स्वतन्त्र नागरिक समाज मोरङको आर्थिक सहयोगमा उद्घोषण, निर्णयपुस्तिका अभिलेखीकरण तथा लेखा व्यवस्थापन तालिम सुरु

Listen to this article
1 minute read

सुन्दरहरैंचा(मोरङ) : इन्द्रपुर समस्त भजन संजालको आयोजना तथा स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचा, मोरङको सहयोगमा उद्घोषण, निर्णयपुस्तिका अभिलेखीकरण, लेखा व्यवस्थापन एवं क्षमता अभिवृद्धि तालिम सुन्दरहरैंचा नगरपालिका–१० स्थित खोर्सानेको ज्येष्ठ नागरिक सभाहलमा सुरु भएको छ।

स्थानीय धार्मिक तथा सामाजिक संघ–संस्थाका पदाधिकारी तथा सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमको उद्घाटन इन्द्रपुर समस्त भजन संजालकी अध्यक्ष गीता लम्साल गौतमको अध्यक्षता तथा शिवप्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गीता लम्साल गौतमले धार्मिक तथा सामाजिक संस्थाहरूलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन यस्ता तालिमहरू आवश्यक रहेको बताइन्।

उनले संस्थागत विकासका लागि पदाधिकारीहरूको ज्ञान, सीप र दक्षता अभिवृद्धि हुनुपर्ने उल्लेख गर्दै तालिमले सहभागीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्ने विश्वास व्यक्त गरिन्। समाजमा सकारात्मक परिवर्तन ल्याउन धार्मिक तथा सामाजिक संस्थाहरूको महत्वपूर्ण भूमिका रहने भएकाले संस्थागत सुदृढीकरणमा जोड दिनुपर्ने उनको भनाइ थियो।

प्रमुख अतिथि शिवप्रसाद दाहालले सामाजिक तथा धार्मिक संघ–संस्थाहरूलाई समयअनुकूल सञ्चालन गर्न नेतृत्व विकास, अभिलेखीकरण, लेखा व्यवस्थापन तथा प्रभावकारी उद्घोषण कला आवश्यक रहेको बताए। उनले संस्थाहरूको विश्वसनीयता र पारदर्शिता कायम राख्न निर्णयपुस्तिका व्यवस्थापन तथा आर्थिक अभिलेखहरूको सही संरक्षण महत्वपूर्ण हुने उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा प्रयोग गर्न सहभागीहरूलाई आग्रह गरे।

तालिमका प्रशिक्षक तथा इन्द्रपुर समस्त भजन संजालका सचिव परमात्मा ओझाले उद्घोषण कला, निर्णयपुस्तिका अभिलेखीकरण, लेखा व्यवस्थापन तथा संस्थागत क्षमता विकासका विषयमा प्रशिक्षण प्रदान गरिरहेका छन्। उनले तालिमलाई व्यवहारिक र सहभागितामूलक बनाइने जानकारी दिँदै सहभागीहरूले आफ्नो संस्था सञ्चालनमा प्रत्यक्ष रूपमा उपयोग गर्न सक्ने सीप हासिल गर्ने बताए।

तालिममा विभिन्न धार्मिक तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिसहित ३२ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। सहभागीहरूले संस्थागत व्यवस्थापन, आर्थिक अनुशासन, अभिलेखीकरण प्रणाली तथा प्रभावकारी सञ्चार सम्बन्धी ज्ञान प्राप्त गर्ने अपेक्षा गरिएको छ।

जेठ ११ गतेदेखि सुरु भएको उक्त तालिम जेठ १८ गतेसम्म सञ्चालन हुने जनाइएको छ। तालिम अवधिभर विभिन्न विषयगत सत्र, अन्तरक्रिया तथा अभ्यासमूलक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। यस्ता कार्यक्रमले स्थानीय धार्मिक तथा सामाजिक संस्थाहरूलाई थप सक्षम, व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *