सडक निर्माण क्षेत्र आसपास एचआईभी/एड्स र मानव बेचबिखन जोखिमबारे इटहरीमा सचेतना

Listen to this article
1 minute read

इटहरी | पूर्व–पश्चिम लोकमार्गअन्तर्गत निर्माणाधीन काँकरभिट्टा–लौकही सडक आयोजनाको क्रममा सुनसरीको इटहरीमा एचआईभी/एड्स, यौनजन्य रोग तथा मानव बेचबिखनविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा एशियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा सञ्चालित राजमार्ग अभिवृद्धि आयोजनाअन्तर्गत आयोजित कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं. ४, ५, ६, १६ र १७ का स्थानीयवासी, सडक निर्माणमा संलग्न श्रमिक, यातायातकर्मी तथा अन्य चलायमान जनसंख्यालाई लक्षित गरी जनचेतना फैलाइएको थियो।

कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ जीवन सिंहले सडक निर्माणका कारण बाहिरबाट कामदारको आवागमन बढ्दा महिला, बालबालिका तथा स्थानीय समुदाय मानव बेचबिखन, यौनजन्य हिंसा र दुर्व्यवहारको जोखिममा पर्न सक्ने बताइन्। उनले एचआईभी/एड्स तथा यौन रोगबाट बच्न समयमै परीक्षण, उपचार र आवश्यक सावधानी अपनाउनुपर्नेमा जोड दिइन्।

स्वास्थ्यकर्मी शोभा भट्टराईले एचआईभी/एड्स तथा यौनजन्य रोगसम्बन्धी जानकारी प्रस्तुत गरेकी थिइन् भने जिल्ला प्रहरी कार्यालयकी प्रहरी नायव निरीक्षक कोपिला भुजेलले मानव बेचबिखनका सम्भावित जोखिम र सुरक्षाका उपायबारे जानकारी गराएकी थिइन्।

कार्यक्रमकी प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरीले सडक निर्माणसँगै विभिन्न क्षेत्र र देशबाट कामदार आउने भएकाले स्थानीय समुदाय सचेत रहन आवश्यक रहेको बताइन्। उनले यस्ता जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै सहभागीहरूलाई प्राप्त जानकारी समुदायसम्म पुर्‍याउन आग्रह गरिन्। साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकोमा आयोजनालाई धन्यवाद व्यक्त गरिन्।

कार्यक्रममा इटहरी उपमहानगरपालिका, काँकरभिट्टा–लौकही सडक आयोजना, विभिन्न सामाजिक संघसंस्था, शिक्षक तथा स्थानीयवासी गरी ८० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो।
आयोजनाका अनुसार झापा, मोरङ र सुनसरीका विभिन्न पालिकामा यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ। इटहरीमा सम्पन्न कार्यक्रमसँगै तीन जिल्लाका १३ वटा पालिकामा सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेका छन्।

लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सडक छेउका ६० स्थानमा सन्देशमूलक साइनबोर्ड राख्ने लक्ष्यअनुसार झापा, मोरङ र सुनसरीका करिब ६० स्थानमा साइनबोर्ड स्थापना गरिसकिएको जानकारी दिइएको छ।

यसैगरी, सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सडक छेउका विद्यालयका शिक्षक–विद्यार्थी तथा सार्वजनिक सवारी चालकलाई लक्षित गरी सञ्चालन गरिने जनाइएको छ। कार्यक्रमको सहजीकरण जीवन सिंहले गरेकी थिइन्।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *