विराटनगर | कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जेठ २७ गते इलाका प्रहरी कार्यालय इटहरी सुनसरी र इलाका प्रहरी कार्यालय बेलबारी मोरङको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निरीक्षणको क्रममा वँहाले कार्यालय तथा शाखाहरुको अभिलेख व्यवस्थापन तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई सुशासनलाई संस्थागत गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । वँहाले नागरिकको विश्वास, भरोसा र समर्थन नै प्रहरीको वास्तविक तागत भएको बताउदै सेवाग्राहीको पिरमार्का र गुनासो छिटो-छरितो तरिकाले सुनवाई गर्न र नागरिक समक्ष सदैव सभ्य, शिष्ट र नम्र ब्यवहारमा प्रस्तुत हुन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । अपराध अनुसन्धानको क्रममा घटनाको प्रमाणमुखी तथा वैज्ञानिक अनुसन्धान प्रणालीलाई सुदृढ बनाउँदै पेन्डिङ मुद्दाको फर्छ्यौट, फरार अपराधी पक्राउ र अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो । यसका साथै आ-आफ्नो जिम्मेवार क्षेत्रमा रहेका पर्यटकिय स्थल हरूमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको सुरक्षा व्यवस्थापनमा विशेष ध्यान जोड दिनुभयो । साथै साइबर अपराध, लागुऔषध दुर्व्यसन विरुद्ध समुदाय स्तरमा सचेतनामूलक कार्यक्रमहरूलाई प्रभावकारीरुपमा सञ्चालन गर्न जोड दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव कुमार थेवे र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवाल समेतको उपस्थिति रहेको थियो ।













