इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा विद्यालय व्यवस्थापन, शिक्षा ऐन तथा मूल्याङ्कन प्रक्रियासम्बन्धी एकदिने तालिम तथा कार्यशाला सम्पन्न भएको छ।
शनिबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालको अध्यक्षता तथा प्याब्सन कोशी प्रदेशका अध्यक्ष सुमित थापाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा सुनसरी जिल्लाभरका ३ सयभन्दा बढी निजी विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल सरकारले हालै ल्याएको शिक्षा ऐन, कानुनी व्यवस्था तथा विद्यालय सञ्चालनसँग सम्बन्धित विविध विषयमा जानकारी प्रदान गरिएको थियो।
अध्यक्ष थानेश्वर ढकालले निजी विद्यालयका प्रतिनिधिहरूलाई नयाँ शिक्षा ऐन तथा त्यससँग सम्बन्धित प्रावधानबारे स्पष्ट जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
उहाँले सुनसरीका सम्पूर्ण निजी विद्यालयलाई शिक्षा क्षेत्रका नवीन नीति, नियम तथा कानुनी व्यवस्थाबारे समयानुकूल जानकारी गराउने कार्यलाई संस्थाले निरन्तरता दिने पनि उल्लेख गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि सुमित थापाले यस्ता तालिम तथा कार्यशालाले विद्यालय व्यवस्थापन र प्रधानाध्यापकहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले गुणस्तरीय शिक्षाका लागि विद्यालय प्रशासन, शिक्षक र व्यवस्थापन पक्षलाई समयानुकूल ज्ञान तथा सीपले सुसज्जित बनाउन आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा शिक्षा क्षेत्रका विशेषज्ञ सीएम बस्नेतले विद्यालय व्यवस्थापन तथा कक्षा १ देखि ५ सम्मको मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण प्रदान गर्नुभएको थियो। उहाँले विद्यार्थी मूल्याङ्कनलाई थप प्रभावकारी, व्यवहारिक र विद्यार्थीमैत्री बनाउने विषयमा प्रशिक्षण दिनुभएको थियो।
प्याब्सन सुनसरीले जिल्लामा निजी विद्यालयहरूको क्षमता विकास, शैक्षिक गुणस्तर अभिवृद्धि तथा शिक्षा क्षेत्रका समसामयिक विषयमा निरन्तर काम गर्दै आएको आयोजकले जनाएको छ।













