इटहरी | आकर्षक जागिर र उज्ज्वल भविष्यको सपना देखाएर सयौँ नेपाली युवायुवतीलाई भारतको पटना लगायतका सहरमा पुर्याई करोडौँ रुपैयाँ असुलेको आरोपमा इटहरी–२ हलगडाका ईश्वर ढकाल पक्राउ परेका छन्।
इटहरी राजमार्गस्थित होटल सोल्टी वेस्टेन्ड अगाडि रहेको ‘रिफ्रेस क्याफे’ सञ्चालन गर्दै आएका ढकालले नेटवर्किङको जालोमार्फत युवाहरूलाई विभिन्न प्रलोभनमा पारेर भारत लैजाने र रकम असुल्ने गरेको खुलासा भएको हो।
इलाका प्रहरी कार्यालय इटहरीले उनलाई शनिबार पक्राउ गरेको छ। साथै, ढकालविरुद्ध नेटवर्किङमार्फत ठगी भएको दाबी गर्दै आठ जना पीडितले प्रमाणसहित उजुरी समेत दिएका छन्।
पीडितहरूले दिएको जाहेरीअनुसार ढकाल नेतृत्वको समूहले आकर्षक जागिरको प्रलोभन देखाएर रकम असुलेको, मानसिक, आर्थिक तथा सामाजिक रूपमा क्षति पुर्याएको आरोप लगाएका छन्।
पीडितहरूका अनुसार फेसबुकमार्फत सम्पर्क विस्तार गर्दै भारतमा राम्रो तलबको जागिर दिलाइदिने आश्वासन दिइन्थ्यो। त्यसपछि ‘सुपरभाइजर’ लगायतका पदमा काम लगाइदिने भन्दै विभिन्न शीर्षकमा रकम उठाएर भारतको पटना लगिने गरिएको थियो। तर त्यहाँ पुगेपछि भने रोजगारीभन्दा बढी नयाँ सदस्य भित्र्याउन दबाब दिने, नेटवर्किङ शैलीमा मानिस थप्न लगाउने र रकम संकलन गर्ने काममा संलग्न गराइने गरेको आरोप छ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–दुलारी निवासी राजेश रिजालले आफू पाँच लाख रुपैयाँभन्दा बढी ठगिएको बताए। उनले भने, ‘भारतमा एकाउन्टेन्टको जागिर दिलाइदिने भन्दै लगियो। जागिरको धरौटी भनेर पैसा मागियो। फेसबुकबाट साथी बनेर विश्वास जितेपछि जालमा पारियो।’
यस्तै, पीडित पब्लिक कट्टेलले पनि पाँच लाख रुपैयाँभन्दा बढी रकम गुमाएको बताए। उनका अनुसार ‘मोडर्न फेसन’ नामक कम्पनीमार्फत भारतमा ‘बिजनेस वर्किङ’मा काम लगाइदिने भन्दै ठगी गरिएको थियो।
इटहरी ५ मा कृष्णप्रसाद दंगालले आफूबाट करिब दुई लाख २० हजार रुपैयाँ लिइएको बताए भने अर्का पीडित किरणबहादुर कटुवालले चार लाख रुपैयाँभन्दा बढी गुमाएको दाबी गरे।
कटुवालका अनुसार साथीमार्फत उनी उक्त जालोमा परेका थिए। उनले भने, ‘१२ कक्षा पढिसकेपछि विदेश जाने तयारीमा थिएँ। साथीले भारतमा राम्रो जागिर पाइन्छ भनेर बोलायो। त्यहाँ पुगेपछि कुनै निश्चित काम थिएन। बरु अरू मानिस ल्याउन लगाइन्थ्यो। राम्रो व्यवहार र मीठा कुराले विश्वास जितेर मानसिक रूपमा नियन्त्रण गरिन्थ्यो।’
उनका अनुसार सुरुमा तलब भन्दै २० हजार रुपैयाँ दिइए पनि त्यसपछि एक रुपैयाँसमेत प्राप्त भएन। उनले गुनासो गर्दै भने,‘घटनाको विषय बाहिर आएपछि धम्कीपूर्ण सन्देशहरू आइरहेका छन्। मलाई केही चाहिँदैन, कम्तीमा मेरा कागजात फिर्ता गरिदिनु भनेर माग्दा पनि दिइएन।’
अर्का पीडित आशीष कार्कीका अनुसार जति धेरै मानिस ल्यायो, उति धेरै फाइदा हुने भन्दै प्रलोभन देखाइन्थ्यो। उनले भने, ‘कामभन्दा पनि मानिस थप्ने र रकम उठाउने दबाब मात्र थियो।’पीडितहरूले यो घटनामा ईश्वर ढकाल मात्र नभई अन्य व्यक्तिहरू पनि संलग्न रहेको दाबी गरेका छन्।
उनीहरूका अनुसार मोरङकी गीता राई, सल्यानका निमबहादुर थापा, गिरिधर मगर, सर्लाहीका अनिल थापा मगर तथा उमेश राना समेत उक्त नेटवर्कमा सक्रिय थिए।
पीडितहरूले सम्बन्धित निकायसँग घटनाको निष्पक्ष छानबिन गरी संलग्न सबैमाथि कानुनी कारबाही गर्न, ठगीमा परेको रकम फिर्ता गराउन तथा यस्ता सङ्गठित नेटवर्किङ ठगीविरुद्ध कडा कदम चाल्न माग गरेका छन्।
पीडितहरूको भनाइमा लामो समयसम्म आकर्षक भविष्य, उच्च तलब र विदेशमा करिअर बनाउने सपना देखाएर आर्थिक शोषण गरिएको छ। प्रहरीमा उजुरी परेपछि घटनाको अनुसन्धान अघि बढाइएको छ।













