सुन्दरहरैंचामा तरकारी तथा च्याउ खेती सम्बन्धी तीनदिने तालिम सुरु

Listen to this article
1 minute read

सुन्दरहरैंचा (मोरङ) : मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा तरकारी तथा च्याउ खेती सम्बन्धी तीनदिने तालिम कार्यक्रम आइतबारदेखि सुरु भएको छ। स्थानीय कृषक तथा महिलाहरूलाई व्यावसायिक कृषि उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यले सुजनशील समाजको आयोजनामा तालिम सञ्चालन गरिएको हो।

कार्यक्रमको उद्घाटन सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा सामाजिक शाखा प्रमुख गुणनिधि दाहाल, सुन्दरहरैंचा–८ का वडा अध्यक्ष खेम न्यौपाने, विभिन्न जनप्रतिनिधि, प्रशिक्षक तथा सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख अकली चौधरीले कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र आत्मनिर्भर बनाउने अभियानमा यस्ता सीपमूलक तालिमहरूको महत्वपूर्ण भूमिका रहने बताइन्।

उनले तरकारी तथा च्याउ खेतीबाट न्यून लगानीमा राम्रो आम्दानी लिन सकिने भएकाले सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरिन्। स्थानीय सरकार कृषकको क्षमता अभिवृद्धि तथा आयआर्जनका कार्यक्रमप्रति सदैव प्रतिबद्ध रहेको उनको भनाइ थियो।

कार्यक्रम आयोजक संस्था सुजनशील समाज परिवारकी अध्यक्ष निरु बजगाईले समुदायमा आर्थिक सशक्तीकरण र स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताइन्। उनले तालिमबाट प्राप्त ज्ञानले सहभागीहरूलाई व्यवसायिक खेतीतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्दै कृषि क्षेत्रको विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिइन्।

तीन दिनसम्म सञ्चालन हुने तालिममा तरकारी तथा च्याउ खेतीका आधुनिक प्रविधि, उत्पादन व्यवस्थापन, रोग तथा कीरा नियन्त्रण, बजार व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ। तालिमबाट सहभागीहरूले व्यावहारिक ज्ञान हासिल गरी आफ्नै स्थानमा व्यवसायिक खेती सञ्चालन गर्न सक्ने अपेक्षा गरिएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *