ग्रामथानमा ‘पैसा नदिई जग्गा खाइदिए’ भन्दै धरधरी रुईन् भागबती

Listen to this article
1 minute read


सुन्दरहरैंचा (मोरङ) : मोरङको ग्रामथान गाउँपालिका–४ का एक विपन्न दम्पतीले आफूहरूलाई पैसा नदिई झुक्याएर तथा डरत्रास देखाई जग्गा हडपिएको आरोप लगाएका छन्। स्थानीय सञ्चारकर्मीहरूमाझ आयोजित पत्रकार सम्मेलनमा सम्पन्न कुमार माझी र उनकी श्रीमती भागबती थारुले आफ्नो दुई कट्ठा १६ धुर जग्गा योजनाबद्ध रूपमा हडपिएको दाबी गर्दै न्यायका लागि सम्बन्धित निकायसँग गुहार मागेका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै भागबती थारु भावुक बनेकी थिइन्। आफ्नो जीवनभरको दुःख, मेहनत र पसिनाबाट जोडेको सम्पत्ति गुमाउनुपरेको पीडा सुनाउँदै उनी धरधरी रोएकी थिइन्। उनका अनुसार विश्वास गरेका व्यक्तिहरूले नै छलकपट गरेर आफ्नो परिवारलाई उठिबास लगाउने प्रयास गरेका छन्।

पीडित दम्पतीका अनुसार स्थानीय मेगनाथ माझी र तारिक चन्द माझीले आफूहरूलाई विभिन्न बहानामा झुक्याएर कागजातमा हस्ताक्षर गराएका थिए। उनीहरूका अनुसार विक्रम संवत् २०७३ साल फागुन १९ गते पाँच लाख रुपैयाँ र फागुन २६ गते सात लाख रुपैयाँ गरी जम्मा १२ लाख रुपैयाँ लिएको भन्ने कागजात तयार गरिएको थियो। तर उक्त रकम आफूहरूले कहिल्यै प्राप्त नगरेको उनीहरूको दाबी छ।

“हामीलाई एक रुपैयाँ पनि दिइएको थिएन,” भागबती थारुले रुँदै भनिन्, “म र मेरो छोरालाई विभिन्न बहानामा बोलाएर कागजमा हस्ताक्षर गराइयो। पछि मात्रै थाहा भयो कि त्यो कागज हाम्रो जग्गा खोस्ने योजनाको हिस्सा रहेछ। पैसा नदिई हामीलाई ऋणी देखाएर हाम्रो सम्पत्ति हडपियो।”

पीडित परिवारका अनुसार उक्त कागजातलाई आधार बनाएर मेगनाथ माझी र तारिक चन्द माझीले मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले उपलब्ध कागजातका आधारमा २०७५ साल चैत १३ गते उनीहरूको पक्षमा फैसला सुनाएपछि विवादित दुई कट्ठा १६ धुर जग्गा कानुनी रूपमा प्रतिवादी पक्षको नाममा गएको पीडितहरूको भनाइ छ।

पत्रकार सम्मेलनमा सम्पन्न कुमार माझीले अदालतको फैसला प्रति असन्तुष्टि व्यक्त गर्दै वास्तविक अवस्था नबुझी निर्णय गरिएको आरोप लगाए। “हामी अशिक्षित र गरिब मानिस हौं। हामीमाथि भएको अन्यायबारे कसैले गहिरो अध्ययन गरेन। जबरजस्ती गराइएको हस्ताक्षरलाई प्रमाण मानेर फैसला भयो। वास्तविकता बुझ्ने प्रयास भएको भए आज हामी आफ्नो घरजग्गा गुमाउनुपर्ने अवस्था आउने थिएन,” उनले बताए।

पीडित परिवारले जग्गा आफ्नो नाममा पास भएपछि पनि आफूहरूमाथि दबाब र धम्कीको श्रृंखला जारी रहेको आरोप लगाएको छ। उनीहरूका अनुसार प्रतिवादी पक्ष पटक–पटक खुकुरी बोकेर जग्गा खाली गर्न आउने, घर छाड्न दबाब दिने तथा ज्यान मार्ने धम्कीसमेत दिने गरेको छ। यसका कारण परिवारका सदस्यहरू निरन्तर मानसिक तनाव र त्रासमा बाँच्न बाध्य भएको उनीहरूको भनाइ छ।

“आफ्नै घरजग्गामा बस्न पनि डर लाग्ने अवस्था छ,” भागबतीले भनिन्, “कहिले के हुन्छ भन्ने त्रासमा रात बिताउनुपरेको छ। हामीलाई न्याय चाहिएको छ, हाम्रो जग्गा फिर्ता चाहिएको छ र हाम्रो ज्यानको सुरक्षा पनि चाहिएको छ।”

आर्थिक रूपमा कमजोर रहेको उक्त परिवारले लामो कानुनी लडाइँ लड्ने अवस्था नभएको बताएको छ। अदालतको फैसला भइसकेपछि आफूहरूका लागि सबै ढोका बन्दजस्तै भएको महसुस गरेपछि अन्ततः सञ्चारमाध्यम, मानव अधिकारकर्मी तथा नागरिक समाजको सहयोग खोज्न बाध्य भएको उनीहरूको भनाइ छ।

पत्रकार सम्मेलनमार्फत पीडित दम्पतीले मानव अधिकार आयोग, स्थानीय प्रशासन, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, कानुन व्यवसायी, पत्रकार तथा सम्बन्धित सबै सरोकारवाला निकायलाई घटनाको निष्पक्ष छानबिन गरी न्याय दिलाउन आग्रह गरेका छन्। साथै उनीहरूले आफ्नो जग्गा फिर्ता गराउन, जीउज्यानको सुरक्षा सुनिश्चित गर्न तथा दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

भागबती थारुको आँसु र पीडाले भरिएको अपिलले पत्रकार सम्मेलनमा उपस्थित धेरैलाई भावुक बनाएको थियो। “हामी गरिब भयौं भन्दैमा हाम्रो सम्पत्ति खोसिनु हुँदैन,” उनले रुँदै भनिन्, “सत्यलाई न्याय मिलोस्, हाम्रो परिवार सडकमा पुग्न नपरोस् भन्ने मात्र चाहना हो।”

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *