इटहरी। इटहरी उपमहानगरपालिका वडा नं. ४ स्थित कचना महादेव माध्यमिक विद्यालयमा बुधबार बिहान १० बजेदेखि छाती तथा क्षयरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा सञ्चालन गरिएको उक्त शिविरमा जम्मा ९४ जना सेवाग्राही सहभागी भएका थिए। सहभागीमध्ये ४८ जना महिला र ४६ जना पुरुष रहेका थिए।
शिविरमा क्षयरोगका सम्भावित बिरामीहरूको पहिचान, परामर्श तथा आवश्यक स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो। विशेषगरी आफूलाई क्षयरोगको लक्षण वा शंका लागेको, घरपरिवारमा क्षयरोगका बिरामी रहेका वा छिमेकमा यस्ता बिरामी भएका व्यक्तिहरूलाई लक्षित गरी शिविर सञ्चालन गरिएको थियो।
शिविरबारे जानकारी गराउन वडा नं. ४ भरि महिला स्वास्थ्य स्वयंसेविकामार्फत घरदैलो कार्यक्रम सञ्चालन गर्नुका साथै माइकिङ गरी सर्वसाधारणलाई सूचना प्रवाह गरिएको थियो।
स्थानीयवासीको उल्लेखनीय सहभागिताले शिविर प्रभावकारी बनेको आयोजकले जनाएको छ।
इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखाका क्षयरोग संयोजक पुरुषोत्तम निरौलाका अनुसार समुदायस्तरमै क्षयरोगको समयमै पहिचान गरी उपचारमा पहुँच बढाउने उद्देश्यले यस्ता स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। उहाँले क्षयरोगका लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा सम्पर्क गर्न सबैलाई आग्रह गर्नुभयो।
शिविरले समुदायमा क्षयरोग सम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै सम्भावित बिरामीहरूको पहिचानमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ।













