इटहरी, असार ५ । Leo District Council 325 C Nepal को आयोजनामा तथा Leo Club of Itahari Smart City को सहआयोजनामा हुन गइरहेको “स्व. लायन नारनाथ सापकोटा स्मृति फुटसल प्रतियोगिता–२०८३” सम्बन्धी जानकारी दिन आज इटहरीमा पत्रकार सम्मेलन सम्पन्न भएको छ।
पत्रकार सम्मेलनमा बोल्दै Leo District Council 325 C Nepal का District President मनोज तिवारीले युवाहरूमा खेलकुदप्रतिको आकर्षण बढाउने, स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने तथा स्वर्गीय लायन नारनाथ सापकोटाले समाजसेवा र युवाको नेतृत्व विकासमा पुर्याएको योगदानको सम्मानस्वरूप प्रतियोगिता आयोजना गरिएको बताए।
उनले प्रतियोगिताले खेलकुदलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी युवाहरूमा अनुशासन, नेतृत्व क्षमता, टीम–स्पिरिट र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
प्रतियोगितामा मोरङ र सुन्सरीका ८ वटा लियो क्लव हरुको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताका विजेता र उपविजेता टोलीलाई नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।

यसैबीच, प्रतियोगिताको निष्पक्ष तथा व्यवस्थित सञ्चालन सुनिश्चित गर्न सहभागी टोलीका प्रतिनिधिहरूको उपस्थितिमा आजै टाइ–सिट सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएको तालिका अनुसार प्रतियोगिताका खेलहरू शनिबार बिहान ९ बजेदेखि सञ्चालन हुनेछन्।
प्रतियोगिताका सहआयोजक कल्वका अध्यक्ष सुरेन्द्र थापाका अनुसार प्रतियोगिताको प्रत्यक्ष प्रसारण मेरो गन्तव्य फेसबुक पेज मार्फत गरिनेछ, जसबाट देश–विदेशमा रहेका खेलप्रेमीहरूले समेत प्रतियोगिताको प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्।
आयोजकका अनुसार प्रतियोगिताले युवाहरूबीच खेल संस्कृतिको विकास, सामाजिक सद्भाव, भाइचारा तथा आपसी सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
पत्रकार सम्मेलनमा विभिन्न सञ्चारकर्मी, लियो पदाधिकारी, खेलकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।













