इटहरी / इटहरी उपमहानगरपालिकामा कार्यालय अन्तर्गत कार्यरत कर्मचारीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नगर प्रमुख हेमकर्ण पौडेलले स्थानीय तहमा कार्यरत कर्मचारीहरूले भोगिरहेका गुनासा तथा समस्याहरूलाई सम्बोधन गर्दै नगरवासीको सेवामा इमान्दार, जिम्मेवार र समर्पित भएर काम गर्न निर्देशन दिनुभयो। उहाँले सेवाग्राहीलाई छिटो, पारदर्शी र सहज रूपमा सेवा प्रदान गर्न कर्मचारीहरूलाई आग्रह गर्दै सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
नगर प्रमुखले विगतदेखि नै प्रत्यक्ष सेवा प्रवाह गर्ने निकायहरूमा देखिएको अव्यवस्था र भद्रगोल अवस्थाका कारण नागरिकले अपेक्षित रूपमा सहज सेवा प्राप्त गर्न नसकेको उल्लेख गर्नुभयो। वर्तमान नगर सरकारले संगठनात्मक संरचनालाई व्यवस्थित गर्दै आवश्यक दरबन्दी कायम गर्ने, कर्मचारीहरूको सेवा–सुविधामा एकरूपता ल्याउने तथा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने दिशामा काम गरिरहेको जानकारी दिनुभयो।
उहाँले कर्मचारीहरूको मनोबल उच्च बनाउँदै कार्यसम्पादनमा सुधार ल्याउन उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। संगठनात्मक व्यवस्थापन, स्पष्ट जिम्मेवारी र अनुकूल कार्य वातावरणका कारण कर्मचारीहरूको कार्यक्षमता तथा सेवा प्रवाहमा समेत सकारात्मक सुधार देखिन थालेको धारणा व्यक्त गरिएको थियो।

कार्यक्रममा कर्मचारीहरूले आफ्ना अनुभव, समस्या तथा सुझावहरू प्रस्तुत गरेका थिए भने नगर नेतृत्वले ती विषयहरूलाई आवश्यक प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। सहभागीहरूले यस्ता अन्तरक्रिया कार्यक्रमले कर्मचारी र नेतृत्वबीच समन्वय तथा आपसी समझदारी अभिवृद्धि गर्दै सार्वजनिक सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।













