धरान जेसिज सप्ताहको छैटौं दिन निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Listen to this article
1 minute read

धरान । धरान जेसिज २०२६ द्वारा आयोजित जेसिज सप्ताहअन्तर्गत छैटौं दिन पानबारी सामुदायिक वनमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। कार्यक्रमका मूल संयोजक शुभम शाक्यले उक्त जानकारी दिनुभएको हो।

कार्यक्रममा डिभिजन वन कार्यालय पच्कन्या–विष्णुपादुकाका प्रमुख रणवीरकुमार झा प्रमुख अतिथि तथा पानबारी सामुदायिक वनका अध्यक्ष भूपाल राई विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

शिविरमा १७० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए। स्वास्थ्य परीक्षणमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्राध्यापक डा. रितेश चौधरी, डा. विवेक मिश्र तथा डा. भास्करराज पौडेलको सहभागिता रहेको थियो। साथै, धरान सिटी अस्पतालबाट नर्सिङ तथा आवश्यक जनशक्ति उपलब्ध गराइएको थियो।

कार्यक्रमको संयोजन हस्तबहादुर मगरले गर्नुभएको थियो भने सभापतित्व धरान जेसिज २०२६का अध्यक्ष सागर प्रसाईंले गर्नुभएको थियो।

अध्यक्ष प्रसाईंले धरान जेसिजले प्रत्येक महिना समुदाय लक्षित स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र त्यसैको निरन्तरताका रूपमा जेसिज सप्ताहमा पनि स्वास्थ्य शिविरलाई समेटिएको बताउनुभयो। उहाँले स्वास्थ्य शिविरको सफलता भनेको धरान बजार क्षेत्रभन्दा टाढा रहेका तथा अस्पतालको पहुँचबाट वञ्चित समुदायसम्म स्वास्थ्य सेवा पुर्‍याउनु रहेको उल्लेख गर्नुभयो।

“धेरैजसो स्वास्थ्य शिविर वडा कार्यालय वा विभिन्न संघ–संस्थाको परिसरमा सञ्चालन हुने गर्छन्। सामुदायिक वनमा शिविर सञ्चालन गर्नुको उद्देश्य वनसँग आबद्ध साना तथा स्वास्थ्य सेवाको पहुँच नपुगेका परिवारलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनु हो,” प्रसाईंले भन्नुभयो।

शिविरमा सहभागीहरूलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो। अध्यक्ष प्रसाईंका अनुसार धरान जेसिजले धरान सिटी अस्पतालको सहकार्यमा प्रत्येक महिना निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *