इटहरी–११ मा वडा भेला सम्पन्न : जनताको आवश्यकता अनुसार योजना छनोट गरी विकास अघि बढाइने

Listen to this article
1 minute read

इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ११ ले आर्थिक वर्ष २०८३/८४ का लागि वडा स्तरीय योजना तर्जुमा तथा वडा भेला सम्पन्न गरेको छ। खनारस्थित भानु आधारभूत विद्यालयमा शनिबार आयोजित भेलामा स्थानीय बासिन्दा, जनप्रतिनिधि, ज्येष्ठ नागरिक, महिला समूह, युवा क्लब तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

वडा कार्यालयले आगामी आर्थिक वर्षका लागि प्राप्त हुने करिब १ करोड २५ लाख रुपैयाँ बजेटलाई जनताको आवश्यकता र प्राथमिकताका आधारमा खर्च गर्ने उद्देश्यले वडा भेला आयोजना गरेको जनाएको छ। भेलामा सहभागी स्थानीयवासीहरूले विकास निर्माणका योजनाहरू वास्तविक आवश्यकता अनुसार छनोट हुनुपर्नेमा जोड दिएका थिए।

स्थानीय बासिन्दाहरूले वडाले नियमित रूपमा अनुगमन गरी आवश्यक क्षेत्र पहिचान गरेर बजेट विनियोजन गर्नुपर्ने बताएका थिए। उनीहरूले वडा स्तरको बजेट मात्र पर्याप्त नहुने भएकाले प्रदेश सरकार र संघीय सरकारसँग समन्वय तथा पहल गरेर थप बजेट भित्र्याउन जनप्रतिनिधिहरू सक्रिय हुनुपर्ने सुझाव दिएका थिए। सडक, खानेपानी, नाली, शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत पूर्वाधारका क्षेत्रमा अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको स्थानीयको भनाइ थियो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष केशव कोइरालाले जनताको आवश्यकतालाई केन्द्रमा राखेर योजना छनोट गरिने बताउनुभयो। उहाँले वडाका विभिन्न टोल तथा बस्तीहरूको अनुगमन गरी त्यहाँ देखिएका समस्या र स्थानीयको मागका आधारमा विकास योजना निर्माण गरिने स्पष्ट पार्नुभयो।

“जनताले आवश्यक ठानेका क्षेत्रलाई प्राथमिकतामा राखेर योजना छनोट गर्नेछौं। प्राप्त बजेटलाई प्रभावकारी रूपमा परिचालन गरी वडाको समग्र विकासका लागि काम गरिनेछ,” वडा अध्यक्ष कोइरालाले बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा ज्येष्ठ नागरिक बाबुराम अधिकारीले विकास निर्माणका कामहरू जनताको हितलाई केन्द्रमा राखेर सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले जनप्रतिनिधिहरूले जनताको विश्वास कायम राख्दै पारदर्शी र उत्तरदायी ढंगले काम गर्नुपर्ने उल्लेख गर्नुभयो।

“विकास भनेको सडक र भवन निर्माण मात्र होइन, जनताको जीवनस्तर सुधार्ने काम पनि हो। त्यसैले वडाले सबै वर्ग र समुदायको हित हुने गरी योजना सञ्चालन गर्नुपर्छ,” अधिकारीले भन्नुभयो।

भेलामा सहभागीहरूले विभिन्न टोल तथा बस्तीका समस्या र आवश्यकताबारे खुला रूपमा आफ्ना धारणा राखेका थिए। स्थानीयहरूले विशेष गरी सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, नाली निर्माण, कृषि विकास, युवा स्वरोजगार, स्वास्थ्य सेवा तथा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए।

वडा भेलाबाट प्राप्त सुझाव र प्रस्तावहरूलाई समेटेर आगामी आर्थिक वर्षका लागि वडा स्तरीय योजना तयार गरिने वडा कार्यालयले जनाएको छ। स्थानीयको सहभागितामार्फत विकासका प्राथमिकता निर्धारण गरिनु सकारात्मक अभ्यास भएको भन्दै सहभागीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका छन्।

जनप्रतिनिधि र स्थानीयबीच प्रत्यक्ष संवाद हुने माध्यमका रूपमा रहेको वडा भेलाले विकास निर्माणका योजनालाई थप प्रभावकारी र जनमुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *