स्काउटको ७५औँ स्थापना दिवसराष्ट्रिय माविमा सप्ताहव्यापी उत्सव, रक्तदानदेखि सम्मानसम्म

Listen to this article
1 minute read


इटहरी । नेपाल स्काउटको ७५औँ स्थापना दिवसको अवसरमा इटहरी–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले विविध सामाजिक, शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमसहित सप्ताहव्यापी उत्सव सम्पन्न गरेको छ ।

नेपाल स्काउट कोशी प्रदेश सरकारको निर्देशनअनुसार आयोजित कार्यक्रमले विद्यार्थी, शिक्षक तथा समुदायलाई एकै सूत्रमा बाँधेको स्काउट शिक्षिका बन्दना दाहालले बताइन् ।


सप्ताहव्यापी कार्यक्रमको सुरुवात असार १ गते ‘स्काउट भित्ते दर्पण’ नामक पत्रिकाको विमोचनबाट गरिएको थियो । असार २ गते ‘तपाईंले कल्पना गर्नुभएको ग्रीन सिटी इटहरी’ शीर्षकमा चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो, जसमा कक्षा ६ देखि १२ सम्मका ३० जना विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो। विद्यार्थीहरूले हरित, स्वच्छ र व्यवस्थित इटहरीको कल्पनालाई चित्रमार्फत प्रस्तुत गरेका थिए ।


असार ३ गते स्थानीय चन्देश्वर शिव मन्दिर तथा विद्यालय परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरी वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गरिएको थियो ।


त्यसैगरी असार ५ गते आयोजित रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका थिए । स्काउट शिक्षिका दाहालका अनुसार रक्तदान कार्यक्रमले मानव सेवाको भावनालाई थप सशक्त बनाएको छ ।


स्थापना दिवसको अवसरमा विद्यालयले २०५३ सालको पहिलो स्काउट ब्याचका सदस्यहरूलाई विशेष सम्मानसमेत गरेको छ। सम्मानित हुनेहरूमा फडिन्द्रप्रसाद दाहाल, रतन कार्की (कैलाश), अर्जुन पराजुली, उत्तम कार्की, मञ्जु भट्टराई र अमृता सुब्बा रहेका छन्। विद्यालयले स्काउट अभियानमा उनीहरूको योगदानको कदर गर्दै सम्मान गरेको जनाएको छ।


कार्यक्रम कोशी प्रदेश स्काउटका प्रमुख आयुक्त हेमन्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले सभापतित्व गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. १ का वडाध्यक्ष कैलाश कार्कीले राष्ट्रिय माविले विद्यार्थीको चौतर्फी विकासका लागि उदाहरणीय कार्य गर्दै आएको बताए ।


विद्यालयले स्काउटको मूल मन्त्र ‘सेवा, अनुशासन र नेतृत्व’ लाई व्यवहारमा उतार्दै स्थापना दिवसलाई समाजसेवा, सिर्जनशीलता र सम्मानको पर्वका रूपमा मनाएको जनाएको छ ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *