विकाश गुरूङ
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका मा सञ्चालन गरिएको पाँचदिने मौरीपालन तालिम सम्पन्न भएको छ। मौरीपालन व्यवसायको प्रवर्द्धन गर्दै स्थानीय बासिन्दाको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यसहित सञ्चालन गरिएको तालिम आइतबार सम्पन्न भएको हो।
“समुदायको नेतृत्वमा पारिस्थितिक प्रणाली पुनर्स्थापना र जीविकोपार्जन सुधार कार्यक्रम” अन्तर्गत असार ३ गतेदेखि शुक्रबारे बजारमा सञ्चालन भएको तालिममा गाउँपालिकाका विभिन्न वडाका किसान तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।
तालिममा आधुनिक मौरीपालन प्रविधि, घार व्यवस्थापन, मौरीमा लाग्ने रोग तथा तिनको नियन्त्रण, मह उत्पादन र बजारीकरणका विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। सहभागीहरूले मौरीपालन व्यवसायलाई व्यावसायिक रूपमा सञ्चालन गर्न आवश्यक ज्ञान र सीप हासिल गरेका छन्।
समापन समारोहलाई सम्बोधन गर्दै सन्तोष तिगेला ले मौरीपालन व्यवसाय ग्रामीण क्षेत्रको आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्न सक्ने बताउनुभयो। उहाँले छथर क्षेत्रमा मौरीपालनका लागि उपयुक्त प्राकृतिक वातावरण, वनस्पति र जैविक विविधता पर्याप्त रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
तालिमका प्रशिक्षक चन्द्र कार्की ले मौरीपालन नेपालका ग्रामीण समुदायका लागि सम्भावनायुक्त उद्यम भएको बताउनुभयो। प्राकृतिक महको माग बढ्दै गएको अवस्थामा वैज्ञानिक र व्यवस्थित ढंगले मौरीपालन गर्न सके किसानहरूले राम्रो आम्दानी गर्न सक्ने उहाँको भनाइ थियो।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ तेह्रथुमको आयोजनामा सम्पन्न तालिम विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूको सहयोगमा सञ्चालन गरिएको हो। आयोजकका अनुसार स्थानीय स्तरमा रोजगारी सिर्जना, आयआर्जन वृद्धि तथा पारिस्थितिक प्रणाली संरक्षणमा योगदान पुर्याउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो।














