नेसनल प्याब्सन सुन्दरहरैँचाद्वारा आधारभूत तहका शिक्षकलाई निरन्तर मूल्याङ्कन प्रणाली सम्बन्धी तालिम सम्पन्न

Listen to this article
1 minute read

निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्न शिक्षकलाई आग्रह

सुन्दरहरैँचा (मोरङ) : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) सुन्दरहरैँचा नगर समितिको आयोजनामा कक्षा ५ सम्म अध्यापन गर्ने शिक्षक–शिक्षिकाका लागि ‘निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली (Continuous Assessment System–CAS)’ सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका शिक्षा शाखा प्रमुख तेज आचार्यले निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न शिक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए।

विशिष्ट अतिथि नेसनल प्याब्सन कोशी प्रदेश अध्यक्ष कमल खनालले समयअनुसार शिक्षण पद्धति परिवर्तन हुँदै गएको उल्लेख गर्दै शिक्षकहरू पनि नयाँ शैक्षिक अवधारणा र मूल्याङ्कन प्रणालीसँग अद्यावधिक हुन आवश्यक रहेको बताए। उनले विद्यार्थीको समग्र विकासलाई केन्द्रमा राखेर शिक्षण गर्न आग्रह गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे।

कार्यक्रमका अध्यक्ष तथा नेसनल प्याब्सन सुन्दरहरैँचा नगर समितिका अध्यक्ष भीम अधिकारीले गुणस्तरीय शिक्षाको आधार दक्ष र प्रशिक्षित शिक्षक भएको बताए। उनले शिक्षकहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न नगर समितिले नियमित रूपमा यस्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाइने बताए।

कार्यक्रमका प्रशिक्षक पिटीआरसी नेपालका जनकराज पराजुलीले निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको अवधारणा, कक्षाकोठामा यसको व्यवहारिक प्रयोग, विद्यार्थीको सिकाइ उपलब्धिको अभिलेखीकरण, मूल्याङ्कनका विधि तथा सिकाइ सुधारका उपायबारे विस्तृत प्रशिक्षण दिएका थिए। उनले मूल्याङ्कन केवल अंक दिने प्रक्रिया नभई विद्यार्थीको सिकाइ सुधार गर्ने प्रभावकारी माध्यम भएको उल्लेख गरे।

प्रशिक्षण कार्यक्रममा सुन्दरहरैँचा नगरभित्रका १४ वटा विद्यालयका करिब १०० जना शिक्षक तथा शिक्षिकाको सहभागिता रहेको थियो। सहभागीहरूले प्रशिक्षणबाट प्राप्त ज्ञान र अनुभवलाई विद्यालयमा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन नेसनल प्याब्सन सुन्दरहरैँचा नगर समितिका सचिव ऋषिराम पाठकले गरेका थिए। कार्यक्रमले शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्दै विद्यालय शिक्षाको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *