मेयर पौडेलको फेसबुक स्टाटसले इटहरीमा तरंग, व्यवसायी–पत्रकारदेखि राजनीतिक वृत्तसम्मको कडा प्रतिक्रिया

Listen to this article
1 minute read

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको लामो स्टाटसपछि नगरको राजनीतिक तथा सामाजिक वृत्तमा बहस चर्किएको छ। मेयर पौडेलले आफूमाथि योजनाबद्ध साइबर आक्रमण, मिडिया ट्रायल तथा चरित्रहत्याको प्रयास भइरहेको दाबी गरेपछि व्यवसायी, पत्रकार, राजनीतिककर्मी तथा सामाजिक अभियन्ताहरूले सार्वजनिक रूपमा प्रतिक्रिया जनाएका छन्।

मेयर पौडेलले आफ्नो स्टाटसमा विगत तीन दशकदेखि विद्यार्थी राजनीति, पार्टी तथा सामाजिक आन्दोलनमा सक्रिय रहँदै जनताको सेवामा समर्पित रहेको उल्लेख गरेका छन्। उनले आफू गरिब, निमुखा र मेहनती जनताको पक्षमा उभिँदै आएको दाबी गर्दै केही प्रभावशाली वर्ग, स्वघोषित बुद्धिजीवी, समाजसेवी, व्यवसायी तथा मिडियाका नाममा आफूमाथि निरन्तर प्रहार भइरहेको आरोप लगाएका छन्।

उनले गत स्थानीय तह निर्वाचनमा आफूलाई हराउन विभिन्न शक्ति केन्द्रहरू एकजुट भए पनि जनताको विश्वासका कारण ती प्रयास असफल भएको उल्लेख गरेका छन्। साथै, इटहरीको विकास रोक्न र नेतृत्वमाथि नियन्त्रण कायम गर्न खोज्ने शक्तिहरू अझै सक्रिय रहेको उनको भनाइ छ।

तर मेयरको उक्त अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना देखिएको छ। आलोचकहरूले आत्मसमीक्षाभन्दा आफूलाई पीडितका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको टिप्पणी गरेका छन्।

इटहरीका व्यवसायी तथा फेन्सी व्यवसायी महासंघका केन्द्रीय सदस्य महेन्द्र गुरागाईंले मेयरको स्टाटसमै प्रतिक्रिया जनाउँदै “शब्दहरू सुन्दर हुन सक्छन्, तर इतिहासले केवल शब्द होइन, कर्मको लेखाजोखा राख्छ” भन्दै नेतृत्वको मूल्यांकन जनताको जीवनमा आएको परिवर्तनले गर्ने बताएका छन्। उनले आलोचनालाई षड्यन्त्रका रूपमा चित्रण गर्नु लोकतान्त्रिक संस्कार नभएको उल्लेख गर्दै आलोचनालाई जवाफदेहिताको ऐनाका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्।

नेपाल पत्रकार महासंघ सुनसरीका सचिव विनय बाह्रकोटीले पनि विगतमा विभिन्न वर्ग, समुदाय, मिडिया तथा सामाजिक संस्थाको साथ र समर्थनकै आधारमा पौडेल विजयी भएको स्मरण गराउँदै लोकप्रिय नेतृत्वबाट अपेक्षा गरिएका दीर्घकालीन तथा प्रभावकारी कामहरू अपेक्षाअनुसार देखिन नसकेको टिप्पणी गरेका छन्।

त्यस्तै नेकपाका पुराना नेता मुक्तिनाथ रिजालले इटहरीले बोकेको आशा क्रमशः निराशामा परिणत हुँदै गएको उल्लेख गर्दै मेयरको कार्यकालमा खासै नयाँ, रचनात्मक तथा दीर्घकालीन योजना देख्न नसकिएको बताएका छन्। उनले मेयर निर्वाचित भएपछि आम नागरिक र कार्यकर्तासँगको दूरी बढेको आरोपसमेत लगाएका छन्।

सामाजिक अभियन्ता विकास भण्डारीले मेयरको कार्यशैलीमा व्यक्तिवाद, अहमता र संकुचित सोच हाबी भएको आरोप लगाएका छन्। उनले सुशासन, पारदर्शिता तथा प्रशासनिक प्रभावकारितामा अपेक्षित उपलब्धि हासिल हुन नसकेको दाबी गरेका छन्।

यस्तै स्थानीय नागरिक नारायण गोदार थापाले सामाजिक सञ्जालमा लामो स्पष्टीकरण दिनुभन्दा नगरका टोल–टोलमा पुगेर विकास निर्माणको प्रत्यक्ष अनुगमन गर्न सुझाव दिएका छन्।

यसैबीच मेयर पौडेलले आफ्नो स्टाटसमा आलोचनात्मक टिप्पणी गर्ने केही व्यक्तिहरूको कमेन्ट हटाएको तथा फेसबुकबाट ब्लक गरेको आरोपसमेत लागेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले असहमत मतलाई हटाउने प्रवृत्तिले लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको बताएका छन्।

मेयर पौडेलले भने सामाजिक सञ्जालमा उठाइने हरेक आरोपको जवाफ दिन आवश्यक नठान्ने उल्लेख गर्दै अन्तिम मूल्यांकन जनताले, इतिहासले र समयले गर्ने बताएका छन्।

पछिल्ला प्रतिक्रियाहरूले इटहरीको नेतृत्व, सुशासन, पारदर्शिता र जनअपेक्षाका विषयमा गम्भीर बहस सुरु भएको देखिएको छ। आलोचकहरूले आत्मसमीक्षा, संवाद र जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने बताएका छन् भने समर्थकहरूले मेयरमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको दाबी गर्दै आएका छन्।

इटहरीको विकास, सुशासन र नेतृत्वको प्रभावकारिताबारे उठेका प्रश्नहरूको उत्तर भने आगामी दिनमा हुने काम, जनमत र राजनीतिक घटनाक्रमले दिने देखिन्छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *