अङ्ग्रेज–नेपाल युद्ध तथा नेपालको सार्वभौमिकता संरक्षणमा नेपाली सेनाको योगदान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

Listen to this article
1 minute read

इटहरी / नेपाली सेना पूर्वी पृतना मुख्यालयद्वारा आयोजना गरिएको “अङ्ग्रेज–नेपाल युद्ध र यसको प्रभाव” विषयक ज्ञानमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सैनिक जनशक्तिमा नेपालको इतिहास, राष्ट्रिय एकता तथा सार्वभौमिकता संरक्षणमा नेपाली सेनाले निर्वाह गरेको भूमिकाबारे थप जानकारी अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा प्राध्यापक कृष्णप्रसाद पोखरेल ले सहजीकरण गर्दै अङ्ग्रेज–नेपाल युद्ध (वि.सं. १८७१–१८७३) को ऐतिहासिक पृष्ठभूमि, त्यसका कारण, युद्धका क्रममा भएका प्रमुख घटनाक्रम तथा त्यसले नेपालको राजनीतिक, सामाजिक र कूटनीतिक क्षेत्रमा पारेको प्रभावबारे विस्तृत जानकारी दिनुभयो। उहाँले सीमित स्रोत–साधनका बाबजुद नेपाली सेनाले देखाएको साहस, रणनीति र राष्ट्रप्रतिको समर्पणले नेपालको स्वतन्त्र अस्तित्व र राष्ट्रिय पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।

सहजीकरणका क्रममा युद्धपछिको परिस्थितिमा नेपालको सीमाना, अन्तर्राष्ट्रिय सम्बन्ध तथा राज्य संरचनामा देखिएका परिवर्तनहरूबारे समेत चर्चा गरिएको थियो। साथै, इतिहासका यस्ता महत्वपूर्ण घटनाबाट वर्तमान पुस्ताले राष्ट्रिय हित, राष्ट्रिय सुरक्षाको महत्व तथा देशप्रतिको जिम्मेवारीबोधका विषयमा प्रेरणा लिनुपर्ने धारणा व्यक्त गरिएको थियो।

कार्यक्रमको अध्यक्षता कर्णेल शैलेन्द्र कोइराला ले गर्नुभएको थियो। अध्यक्षीय मन्तव्यका क्रममा उहाँले नेपाली सेनाले विगतदेखि वर्तमानसम्म राष्ट्रको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रिय सुरक्षाको संरक्षणमा निरन्तर योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभयो। साथै, इतिहासलाई अध्ययन र आत्मसात् गर्दै भविष्यका चुनौतीहरू सामना गर्न सक्षम जनशक्ति निर्माणमा यस्ता कार्यक्रम उपयोगी हुने बताउनुभयो।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *