इटहरी । इटहरीस्थित सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा आइतबार आयोजित साहित्यिक कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले आफ्ना सिर्जनात्मक कविता वाचन गरेका छन्।
साहित्य सङ्गीत उत्सव–२०८३ अन्तर्गत आयोजित कार्यक्रममा इटहरीका विभिन्न शिक्षालयमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत १८ जना विद्यार्थीले आफ्ना कविता प्रस्तुत गरेका हुन्। कार्यक्रममा कञ्चन रिमाल, हिमानिशा पराजुली, समृद्धि घिमिरे, अञ्जली रौनियार, युविसा श्रेष्ठ, मनिता रम्तेल, दिलाशा न्यौपाने, आरती फुयाल, ओजश्वी कटवाल, सिर्जन खत्री, नफिशा खातुन, प्रियंका बोहरा, आविष्कार घिमिरे, इमाशा कटवाल, श्रेया भट्टराई, उत्सव भट्टराई, रिवास राई तथा श्रेयसी भट्टराईले कविता वाचन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि प्रसिद्ध कवि मनु मञ्जिलले कविता सिर्जना गर्ने व्यक्तिमा करुणाभाव अनिवार्य हुनुपर्ने धारणा व्यक्त गरे। उनले कविता, सङ्गीत र चित्रकलामा संलग्न स्रष्टाले समाजलाई फरक दृष्टिकोणबाट हेरेर गहिरा अनुभूतिलाई कलामार्फत अभिव्यक्त गर्न सक्नुपर्ने बताए।
मञ्जिलले कविताको सार ठूल्ठूला विषयवस्तुभन्दा पनि जीवनका सूक्ष्म तर गहन अनुभूतिलाई प्रभावकारी ढङ्गले शब्दमा उतार्न सक्नुमा रहेको उल्लेख गरे। उनले भने, “कविता लेख्ने, सङ्गीतमा काम गर्ने र चित्रकला गर्ने मानिसमा करुणाभाव हुनुपर्छ। आम मानिसले हेर्नेभन्दा फरक कोणबाट हेर्न, बुझ्न र अभिव्यक्त गर्न सक्नुपर्छ।”
आफ्नो साहित्यिक यात्राको अनुभव सुनाउँदै उनले कवि बन्नका लागि निरन्तर अभ्यास आवश्यक रहेको बताए। नियमित अभ्यास र सिर्जनाप्रतिको समर्पणले मात्र शक्तिशाली र प्रभावशाली कविता जन्माउने उनको भनाइ थियो।
उनले थपे, “आज लेखिएका धेरै गीत, कथा र पुस्तकका आधारमा पनि काव्य चेतना नै रहेको हुन्छ। काव्यबिनाको लेखनको अर्थ र प्रभाव दुवै अपूर्ण हुन्छ।”
कार्यक्रममा कवि बद्री भिखारी, देवान किराती, प्रज्वल पराजुली तथा शिक्षासेवी गणेश दुलाललगायतले विद्यार्थीहरूको कविता श्रवण गर्दै साहित्य सिर्जनामा निरन्तर सक्रिय रहन प्रेरित गरेका थिए।
सङ्गीत साधना प्रतिष्ठान नेपालका अध्यक्ष प्रदीप रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमबारे महासचिव राजु केसीले प्रकाश पारेका थिए।

आयोजकका अनुसार यस्ता साहित्यिक कार्यक्रमले विद्यालय तहका विद्यार्थीमा साहित्यप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै सिर्जनशीलता, आत्मविश्वास र अभिव्यक्ति क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।













