कामधेनुद्वारा दोस्रो चरणको सहकारी शिक्षा तथा तालिम सम्पन्न

Listen to this article
1 minute read

सुन्दरहरैंचा /कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडले मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका–१, वडा कार्यालय परिसरमा रहेको बनिगामा दुग्ध सहकारी अन्तर्गतका सदस्य तथा बेलबारी नगरपालिका–७, बाहुनीमा दोस्रो चरणको सहकारी शिक्षा तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाको शिक्षा उपसमिति संयोजक ईश्वरीप्रसाद बस्तीको संयोजकत्वमा आयोजित तीनदिने तालिम कार्यक्रममा सहकारीका सिद्धान्त, मूल्य–मान्यता, सदस्यका अधिकार तथा कर्तव्य, संस्थागत सुशासन, सहकारीका वर्तमान चुनौती तथा अवसरलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। तालिममा मोरङ जिल्लाका विभिन्न क्षेत्रका शेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको संस्थाले जनाएको छ।

संस्थाका परिकल्पनाकार टीकाप्रसाद ओझाले सहकारी अभियानलाई सफल बनाउन सदस्यहरूको सक्रिय सहभागिता, पारदर्शिता र संस्थाप्रतिको अपनत्व आवश्यक हुने बताए। सहकारीमार्फत आर्थिक तथा सामाजिक रूपान्तरण सम्भव भएको उल्लेख गर्दै उनले संस्थाको दृष्टिकोणलाई साकार पार्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। साथै, अध्यक्ष यादव ढकालले संस्थागत कारोबार तथा सहकारीको दीर्घकालीन विकासका विषयमा जानकारी गराएका थिए।

त्यसैगरी, प्रशिक्षक तथा स्रोत व्यक्तिका रूपमा हरकुलस पोखरेलले सहजीकरण गरेका थिए। उनले सहकारी शिक्षा, व्यवस्थापन, सदस्यको भूमिका तथा सहकारी संस्थाले अवलम्बन गर्नुपर्ने कानुनी तथा व्यवहारिक पक्षबारे प्रशिक्षण दिएका थिए।

संस्थाका अध्यक्ष यादव ढकालले सहकारीलाई थप सुदृढ, उत्तरदायी र सदस्यकेन्द्रित बनाउन नियमित रूपमा यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रम सञ्चालन गरिँदै आएको बताए। उनले सहकारीको वास्तविक शक्ति सदस्यहरू नै भएको उल्लेख गर्दै सदस्य शिक्षामार्फत संस्थाको दिगो विकास सम्भव हुने धारणा व्यक्त गरे।

कार्यक्रमको समापनसँगै सहभागीहरूले सहकारीसम्बन्धी ज्ञान तथा व्यवहारिक अनुभव आदान–प्रदान गर्ने अवसर प्राप्त भएको बताएका छन्। संस्थाले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने प्रशिक्षक, अतिथि तथा सहभागीहरूप्रति आभार व्यक्त गरेको छ।
कार्यक्रम सञ्चालन उपसमिति सदस्य योगेन्द्रबहादुर कार्कीले गरेका थिए।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *