साल्पासिलिछो गाउँपालिकाले ४९ करोड ८९ लाखको बजेट पारित, सडकदेखि पर्यटन र कृषि पूर्वाधारलाई प्राथमिकता

Listen to this article
1 minute read

भोजपुर । साल्पासिलिछो गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को १८औँ गाउँसभाको पहिलो बैठकले नीति तथा कार्यक्रम तथा दोस्रो बैठकले आर्थिक विधेयक पारित गर्दै रु ४९ करोड ८९ लाख १८ हजार १ सय ७७ रुपैयाँ बराबरको विनियोजन विधेयक स्वीकृत गरेको छ। गाउँसभाको अर्को बैठक आगामी असार २६ गते बस्ने गरी स्थगित गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि विकास, कृषि, पर्यटन, पूर्वाधार तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न महत्वाकांक्षी योजनाहरू अघि सारेको छ।

गाउँपालिकाका अनुसार यस वर्ष कार्तिक–कुलुङ–चौकीडाँडा–दोभाने–साल्पा सडक ग्राभेल गर्न रु २ करोड ५० लाख विनियोजन गरिएको छ। यस्तै उन्नत जातको गाईपालन प्रवर्द्धनका लागि रु १ करोड ८० लाख बजेट छुट्याइएको गाँउपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिए ।

स्थानीय उत्पादन तथा कृषि क्षेत्रको विकासलाई टेवा पुर्‍याउने उद्देश्यले गाउँपालिका चिस्यान केन्द्र (कोल्ड सेन्टर) निर्माणका लागि रु १ करोड ६० लाखकुलुङ अयाबे खानेपानी आयोजनाका लागि रु १ करोड ५० लाख विनियोजन गरिएको छ।

पर्यटन पूर्वाधार विकासतर्फ साल्पा क्षेत्र पर्यटन पूर्वाधार (मुन्दुम ट्रेल) निर्माणका लागि रु १ करोड ५० लाख बजेट व्यवस्था गरिएको छ। यसले क्षेत्रीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी गोठेबजार–वेडेखुवा–खोला मोटरेबल पुल निर्माण (क्रमागत योजना) का लागि रु १ करोड २० लाख विनियोजन गरिएको छ भने भुन–कुलुङ खोला दोभाने सडक पुल चालु आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य लिइएको छ। याक्सा नागदेह मोटरेबल पुल निर्माणका लागि रु ९० लाख बजेट छुट्याइएको छ।

पूर्वाधार विकासअन्तर्गत वडा नं. १, ५ र ६ का वडा कार्यालय भवन निर्माण सम्पन्न गर्न रु १ करोड २० लाख ८० हजार बजेट विनियोजन गरिएको छ। पिठुमाको आहालडाँडा क्षेत्रमा टेलिफोन टावर निर्माण प्रक्रिया पनि अगाडि बढाइएको जनाइएको छ।

सामाजिक क्षेत्रतर्फ गाउँपालिकाद्वारा सञ्चालित आठ वटा सामुदायिक स्वास्थ्य इकाइमा कर्मचारी व्यवस्थापन, ईसीडी, कर्मचारी तथा आधारभूत र माध्यमिक तहका शिक्षक दरबन्दी नभएका विद्यालयमा अनुदान व्यवस्थापनलाई निरन्तरता दिइने भएको छ।

युवालाई स्वरोजगार तथा उद्यमशीलतामा प्रोत्साहन गर्न क्षमता विकास तालिम तथा परियोजनाको आधारमा सहुलियत ऋण (कर्जा) कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले कृषि, पर्यटन, सडक तथा सामाजिक सेवामा केन्द्रित बजेटले स्थानीय विकास र आर्थिक गतिविधि विस्तारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *