इटहरी, असार १० — इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ५२ करोड २८ लाख ७० हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको तुलनामा यो बजेट २ करोड ९२ लाख ३० हजार रुपैयाँले कम हो।
बुधबार सम्पन्न १८औँ नगरसभामा उपप्रमुख सङ्गीता कुमारी चौधरीले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्दै आगामी वर्षका लागि भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्। चालु आर्थिक वर्ष २०८२/०८३ मा इटहरीले २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो।
उपमहानगरपालिकाले आगामी वर्ष राजस्व सङ्कलन, कर प्रशासन सुदृढीकरण तथा विकास निर्माणलाई केन्द्रमा राखेर बजेट विनियोजन गरेको जनाएको छ।
बजेटको स्रोततर्फ सङ्घीय समानीकरण अनुदानबाट २८ करोड ७३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यस्तै सङ्घीय सशर्त अनुदान अन्तर्गत चालु खर्चतर्फ ४९ करोड ७० लाख र पुँजीगत खर्चतर्फ ४९ करोड १८ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। सङ्घीय विशेष अनुदानबाट ५ करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
प्रदेश सरकारबाट समानीकरण अनुदान २ करोड ७५ लाख ५० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने प्रदेश सशर्त अनुदान अन्तर्गत चालु खर्चतर्फ १ करोड ३७ लाख ७० हजार र पुँजीगत खर्चतर्फ ३ करोड २३ लाख रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख छ।
त्यसैगरी सङ्घीय राजस्व बाँडफाँडबाट १९ करोड ९८ लाख ५७ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँड अन्तर्गत सवारी करबाट २ करोड २२ लाख ५३ हजार रुपैयाँ तथा स्थानीय राजस्व बाँडफाँड (मालपोत) बाट २५ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। आन्तरिक राजस्वबाट ५६ करोड ३० लाख ४० हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ भने नगर विकास कोषबाट ८ करोड ८० लाख रुपैयाँ ऋण प्राप्त गर्ने योजना बनाइएको छ।
खर्चतर्फ चालु खर्चका लागि ९४ करोड ८३ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ३७.५९ प्रतिशत हो। वित्तीय व्यवस्थाअन्तर्गत साँवा तथा ब्याज भुक्तानीका लागि १ करोड २४ लाख रुपैयाँ छुट्याइएको छ।
पुँजीगत खर्चतर्फ १ अर्ब २९ करोड ४६ लाख रुपैयाँ विनियोजन गरिएको छ भने विभिन्न विषयगत क्षेत्रका कार्यक्रम सञ्चालनका लागि २६ करोड ७५ लाख रुपैयाँ व्यवस्था गरिएको छ।

उपमहानगरपालिकाले प्रस्तुत गरेको बजेटले पूर्वाधार विकास, राजस्व व्यवस्थापन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।













