मोरङ / केराबारी गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा आयोजित अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरिएको छ।
गाउँपालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, रोजगार तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ। “कृषि पर्यटनसहितको पूर्ण पूर्वाधार, समृद्ध कोशीबारी हाम्रो आधार” भन्ने मूल नारासहित प्रस्तुत बजेटले गाउँपालिकालाई आर्थिक, सामाजिक तथा भौतिक विकासतर्फ अघि बढाउने अपेक्षा गरिएको छ।
गाउँसभामा गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय उत्पादनको प्रवर्द्धन, कृषि व्यवसायीकरण, युवालाई स्वरोजगारमुखी बनाउने योजना, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच विस्तार, सडक तथा अन्य पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिए। साथै, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सुशासन प्रवर्द्धनका कार्यक्रमलाई समेत बजेटमा समेटिएको छ।
अधिवेशनका क्रममा गाउँपालिकाको समग्र विकासमा योगदान पुर्याउने कर्मचारीहरूको कार्यसम्पादनको मूल्यांकन गर्दै उत्कृष्ट सात जना कर्मचारीलाई सम्मान गरिएको छ। सम्मानित कर्मचारीहरूलाई प्रमाणपत्र, दोसल्ला तथा जनही नगद ५१ हजार रुपैयाँ प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले प्रस्तुत बजेट तथा नीति कार्यक्रमले गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता र स्थानीय नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
गाउँसभाले आगामी वर्षका लागि प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्दै आवश्यक सुझावसहित पारित गर्ने प्रक्रिया अगाडि बढाएको छ। गाउँपालिकाले विकास निर्माणका कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समृद्ध र आत्मनिर्भर स्थानीय तह निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।













