इटहरी, असार ११ । कृषि, पशुपालन, मत्स्यपालन तथा एग्रो टुरिज्म क्षेत्रमा सक्रिय युवा उद्यमी तथा नेपाली कांग्रेसका कोशी प्रदेश सदस्य एवं महासमिति सदस्य सिजन गुरुङले तरहराको पुरानो चौकीमा ‘बराह एग्रो फ्रेश हाउस’ सञ्चालनमा ल्याएका छन्।
स्थानीय उत्पादनलाई उपभोक्तासम्म प्रत्यक्ष रूपमा पुर्याउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको फ्रेश हाउसले ताजा, स्वस्थ र गुणस्तरीय कृषि तथा पशुजन्य उत्पादनको बिक्री–वितरण गर्ने जनाएको छ।
लामो समयदेखि कृषि, पशुपालन, माछापालन र एग्रो टुरिज्म क्षेत्रमा आबद्ध गुरुङले स्थानीय स्रोत र सम्भावनाको सदुपयोग गर्दै उत्पादनमुखी उद्यमशीलताको उदाहरण प्रस्तुत गर्दै आएका छन्। उनले सञ्चालन गरेका विभिन्न कृषि तथा पशुपालन परियोजनाले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै किसानहरूको आयआर्जन वृद्धि गर्न सहयोग पुगेको बताइएको छ।
गुरुङले एग्रो टुरिज्ममार्फत कृषि, पशुपालन, स्थानीय उत्पादन र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोड्ने प्रयास गर्दै आएका छन्। यसले स्थानीय उत्पादनको बजारीकरण, आन्तरिक पर्यटन प्रवर्द्धन तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा योगदान पुर्याउने विश्वास गरिएको छ।
नवनिर्मित बराह एग्रो फ्रेश हाउसले स्थानीय किसानबाट उत्पादित वस्तुलाई बजार उपलब्ध गराउँदै कृषि क्षेत्रलाई थप व्यवसायिक र आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय उत्पादनको प्रवर्द्धन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित यस अभियानले कृषि तथा पशुपालन क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। व्यवसायिक यात्राको नयाँ अध्यायका रूपमा सुरु गरिएको बराह एग्रो फ्रेश हाउसको सफलताको शुभकामना व्यक्त गरिएको छ।













