सुनसरी । सुनसरीको रामधुनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७५ करोड ४२ लाख ७७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको २०औँ नगरसभामा उपप्रमुख तारा थापाले उक्त बजेट प्रस्तुत गरेकी हुन्।
नगरसभामा नगरप्रमुख शंकरलाल चौधरीले आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास तथा सुशासनलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
नीति तथा कार्यक्रममा कृषिको आधुनिकीकरण, कृषक परिचयपत्र वितरण, स्वास्थ्य बीमाको दायरा विस्तार, विद्यालयमा डिजिटल शिक्षण प्रणालीको विकास, नगर बस सेवाको विस्तार तथा रिङरोड अवधारणालाई निरन्तरता दिने योजना समेटिएको छ। साथै नगरभित्रका पर्यटकीय क्षेत्रहरूको संरक्षण, प्रवर्द्धन र विकासलाई समेत प्राथमिकतामा राखिएको छ।
युवालाई स्वरोजगार र उद्यमशीलतामा जोड्ने, फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउने, “एक घर एक धारा” अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने तथा सेवा प्रवाहमा सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग विस्तार गर्ने नीति पनि नगरपालिकाले लिएको छ।

नगरप्रमुख चौधरीले प्रस्तुत नीति तथा कार्यक्रमले “समृद्ध रामधुनी, सुखी रामधुनीवासी” को दीर्घकालीन लक्ष्य हासिल गर्न महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गरेका छन्।













