स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

पर्यटन व्यवसायीलाई डिजिटल प्रविधिसँग जोड्न इटहरीमा एआई तथा डिजिटल मार्केटिङ तालिम

इटहरी । पर्यटन तथा होटल व्यवसायलाई डिजिटल प्रविधिसँग जोड्दै थप प्रतिस्पर्धी, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले इटहरीमा निःशुल्क डिजिटल मार्केटिङ, कृत्रिम बुद्धिमत्ता (एआई) तथा सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी तीन दिने तालिम सुरु भएको छ।

इटहरी–५ स्थित सत्सङ्ग प्यालेसमा नेपाल पर्यटन बोर्डको आयोजनामा तथा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको सहयोगमा सुरु भएको तालिममा सुनसरीसहित कोशी प्रदेशभरका होटल तथा पर्यटन व्यवसायीहरूको सहभागिता रहेको छ। तालिम असार ११ देखि १४ गतेसम्म सञ्चालन हुने कार्यक्रम संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष केशव गिरीले जानकारी दिए।

संघका अध्यक्ष तेजबहादुर पुरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐर प्रमुख अतिथि थिए। कार्यक्रममा बोल्दै ऐरले विश्व तीव्र गतिमा डिजिटल इकोसिस्टमतर्फ अघि बढिरहेको उल्लेख गर्दै पर्यटन व्यवसायीहरू समयअनुकूल प्रविधिको प्रयोगमा अभ्यस्त हुनुपर्ने बताए। डिजिटल माध्यमको प्रभावकारी प्रयोगले पर्यटन प्रवर्द्धन, ग्राहक आकर्षण र व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

कार्यक्रममा सिबी कलेजका अध्यक्ष देशबन्धु कार्की, होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष खिलाराज सुवेदी, पूर्व केन्द्रीय उपाध्यक्ष देवी गौतम, नाटा कोशी प्रदेश अध्यक्ष पुण्यप्रसाद भट्टराई, होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ तथा होटल तथा लज व्यवसायी समितिका अध्यक्ष दीपक पोख्रेललगायतले पर्यटन क्षेत्रको विकासका लागि डिजिटल मार्केटिङ, एआई र सामाजिक सञ्जाल व्यवस्थापन अपरिहार्य बन्दै गएको धारणा राखेका थिए।

संघका अध्यक्ष पुरीले पर्यटन व्यवसायीलाई आधुनिक प्रविधिमार्फत सशक्त बनाउन नेपाल पर्यटन बोर्डले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। उनले कोशी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर पर्याप्त बजेट विनियोजन गर्न नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।

संघका महासचिव कृष्ण पराजुलीले सञ्चालन गरेको कार्यक्रममा होटल एसोसिएसन भेडेटारका सचिव रमेश श्रेष्ठ, संघका कोषाध्यक्ष प्रितिमाया सुनुवार, सचिव माधव दाहाल, सहकोषाध्यक्ष कौशल्या श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार तालिममार्फत सहभागीहरूलाई डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग, एआईको व्यावहारिक उपयोग तथा सामाजिक सञ्जालमार्फत पर्यटन प्रवर्द्धनका आधुनिक सीप प्रदान गरिनेछ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *