इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशनबाट सुनसरीका नेता तथा प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरी केन्द्रीय सदस्यमा अत्यधिक मतसहित विजयी भएका छन्। चितवनमा सम्पन्न महाधिवेशनअन्तर्गत भएको केन्द्रीय सदस्य निर्वाचनमा चौधरीले उल्लेखनीय मत प्राप्त गर्दै पार्टीभित्र आफ्नो बलियो जनाधार पुष्टि गरेका हुन्।
रास्वपाका संस्थापक केन्द्रीय सदस्यसमेत रहेका चौधरी पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–३ बाट निर्वाचित भएका थिए। हाल उनी प्रतिनिधिसभाअन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिको सभापतिको जिम्मेवारीमा छन्। पार्टी संगठन विस्तार, समावेशी नेतृत्व र कार्यकर्तामुखी राजनीतिका कारण उनी रास्वपाभित्र लोकप्रिय नेताका रूपमा परिचित छन्।
केन्द्रीय सदस्यमा अत्यधिक मतसहितको विजयसँगै चौधरीको पार्टीभित्रको राजनीतिक हैसियत थप बलियो बनेको विश्लेषण गरिएको छ। सुनसरीसहित कोशी प्रदेशका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले उनको विजयलाई नयाँ पुस्ताको नेतृत्वप्रतिको विश्वासका रूपमा लिएका छन्।

विजयपछि चौधरीले पार्टीलाई अझ सशक्त, लोकतान्त्रिक र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गर्दै कार्यकर्ताको भावना र जनताको अपेक्षालाई केन्द्रमा राखेर काम गर्ने बताएका छन्।













