तेह्रथुमको छथर गाउँपालिकाले आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै १७औँ गाउँसभा अधिवेशन सम्पन्न

Listen to this article
1 minute read

तेह्रथुम / तेह्रथुमको छथर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै १७औँ गाउँसभा अधिवेशन सम्पन्न गरेको छ ।

गाउँपालिका–३ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ५२ ढोके घर, बराह मन्दिर तथा योमुइ चङखासिङ गढी परिसरमा आयोजित अधिवेशनले आगामी आर्थिक वर्षका लागि ४७ करोड २७ लाख ९९ हजार ६ सय ३४ रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको हो ।


गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रमले कृषि, पशुपालन, रोजगार, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ। स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै उत्पादनमूलक र रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई केन्द्रमा राखिएको गाउँपालिकाले जनाएको छ ।


प्रस्तुत नीति अनुसार प्रत्येक वडाले राष्ट्रिय रोजगार कार्यक्रमलाई अनिवार्य रूपमा सञ्चालन गर्ने, अधुरा योजनालाई सम्पन्न गर्ने तथा सामूहिक र उत्पादनसँग जोडिएका योजनालाई प्राथमिकता दिने व्यवस्था गरिएको छ। विद्यालयहरूमा स्वच्छ खानेपानीको पहुँच विस्तार, मुख्य सडकलाई क्रमशः अलवेदर बनाउने तथा वडा गौरवका योजनालाई निरन्तरता दिने लक्ष्यसमेत तय गरिएको छ ।


गाउँपालिकाले आगामी वर्ष विकास निर्माणका योजनालाई छरिएर सञ्चालन गर्नेभन्दा परिणाममुखी र दीर्घकालीन प्रभाव पार्ने योजनामा लगानी केन्द्रित गर्ने जनाएको छ। विशेष गरी कृषि उत्पादन वृद्धि, ग्रामीण सडक स्तरोन्नति, खानेपानी, शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच विस्तारमार्फत नागरिकको जीवनस्तर उकास्ने उद्देश्य लिइएको छ ।

यसैबीच, गाउँसभा कार्यक्रमकै अवसरमा छथर गाउँपालिका–३ पञ्चकन्यामा नवनिर्मित वडा कार्यालय भवनको औपचारिक उद्घाटन गरिएको छ । आधुनिक सुविधासम्पन्न भवन सञ्चालनमा आएसँगै स्थानीय नागरिकलाई सेवा प्रवाह थप प्रभावकारी, सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

गाउँसभा अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले सुशासन, पारदर्शिता र दिगो विकासमार्फत समृद्ध छथर निर्माणको अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।


छथर गाउँपालिकाले आगामी आर्थिक वर्षलाई उत्पादन, रोजगारी र पूर्वाधार विकासको वर्षका रूपमा अघि बढाउने लक्ष्यसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *