भोजपुरको लुकेको स्वर्ग: १३९ मिटर अग्लो चिर्खुवा छाँगे झरना, जहाँ प्रकृति र आस्था एकैसाथ भेटिन्छन्

Listen to this article
1 minute read

भोजपुर। पूर्वी पहाडको प्राकृतिक सौन्दर्यले भरिपूर्ण भोजपुर जिल्लामा रहेका लुकेका पर्यटकीय गन्तव्यमध्ये चिर्खुवा छाँगे झरना पछिल्लो समय आकर्षणको केन्द्र बन्दै गएको छ। षडानन्द नगरपालिका–३ मा अवस्थित करिब १३९ मिटर उचाइबाट झर्ने यो झरना जिल्लाकै अग्लो झरनाका रूपमा परिचित छ।

झरनासम्म पुग्न भोजपुर सदरमुकाम वा दिङ्लाबाट यात्रा सुरु गर्न सकिन्छ। एकुमा, सानो दिङ्ला र कुनालुङ हुँदै अन्तिम बस्ती साइमा गाउँसम्म कच्ची सडक पुगेको छ। त्यहाँबाट करिब २०–३० मिनेट जंगलको उकालो पैदल यात्रा गरेपछि झरनाको फेदीमा पुग्न सकिन्छ। वर्षायाममा सडक अत्यन्तै जोखिमपूर्ण हुने भएकाले मौसम र बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न स्थानीयको सुझाव छ।

घना जंगलको बीचमा अवस्थित झरनाको प्राकृतिक बनावट आफैंमा आकर्षक छ। झरनाका भिर–पहरामा प्राकृतिक रूपमा नागको आकृति देखिने भएकाले स्थानीयले त्यसलाई ‘सेती नाग’ र ‘काली नाग’ को प्रतिरूपका रूपमा विश्वास गर्ने गरेका छन्। ढुंगामा बनेका प्राकृतिक आकृतिहरू र वरिपरिको हरियालीले यस क्षेत्रलाई थप मनमोहक बनाएको छ।

चिर्खुवा छाँगे झरना प्राकृतिक गन्तव्य मात्र नभई धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्रसमेत हो। यहाँ रहेका ‘धर्मद्वार’ र ‘पापद्वार’ नामका दुई ओडारमा प्राचीनकालदेखि झाँक्रीहरूले तपस्या गर्ने गरेको स्थानीय किंवदन्ती छ। विगत १८ वर्षदेखि पूजा गर्दै आएका स्थानीय पुजारी (झाँक्री बा) का अनुसार दैवी संकेतका आधारमा यो स्थान पवित्र तीर्थस्थलका रूपमा स्थापित भएको विश्वास गरिन्छ। विशेष पर्वका अवसरमा यहाँ श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहने गर्छ।

पर्यटनको ठूलो सम्भावना बोकेको यस क्षेत्रमा अझै होटल वा लजको पर्याप्त व्यवस्था छैन। पर्यटकहरूले साइमा गाउँका तामाङ समुदायको होमस्टेमा बसोबास गर्दै स्थानीय संस्कृति र परिकारको अनुभव लिन सक्छन्। तर, जंगल क्षेत्रमा भालुलगायत वन्यजन्तुको आवतजावत हुने भएकाले स्थानीय गाइडको साथमा मात्र यात्रा गर्न सुझाव दिइन्छ।

पूर्वाधार विकास, सडक स्तरोन्नति र सुरक्षाको उचित व्यवस्थापन गर्न सके चिर्खुवा छाँगे झरना भोजपुरको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने र स्थानीय पर्यटन अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

लेख/तस्बिर: सदिस श्रेष्ठ, भोजपुर

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *