काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश भूगोलतर्फको निर्वाचनमा उम्मेदवार रहेकी पूजा वास्तोलाले निर्वाचन परिणाममाथि गम्भीर प्रश्न उठाउँदै सर्वोच्च अदालत जाने घोषणा गरेकी छन्।
वास्तोलाले आफूले प्रतिनिधिहरूबाट ९१३ मत प्राप्त गरेको र महिलातर्फ शीर्ष दुई तथा खुलातर्फ शीर्ष पाँचभित्र पर्ने मत प्राप्त गरे पनि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम परिणाममा आफूभन्दा कम मत प्राप्त गरेका उम्मेदवार निर्वाचित भएको दाबी गरेकी छन्।
विज्ञप्तिमार्फत उनले आफूलाई विश्वास गरेर मत दिएका प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै यो विषय पद, जीत वा हारको नभई पद्धति, सुशासन र लोकतान्त्रिक प्रक्रियाको भएको उल्लेख गरेकी छन्।
‘यदि लोकतान्त्रिक प्रक्रियाभित्र नै विधि मिचिन्छ, मत परिणामभन्दा फरक नतिजा घोषणा गरिन्छ र त्यसलाई स्वीकार गर्न दबाब सिर्जना गरिन्छ भने त्यसले हामीले निर्माण गर्न खोजेको राजनीतिक संस्कारमाथि नै प्रश्न उठाउँछ,’ विज्ञप्तिमा उल्लेख छ।
उनले लोकतन्त्रको वास्तविक शक्ति परिणामभन्दा पनि त्यससम्म पुग्ने प्रक्रियाको विश्वसनीयतामा निर्भर रहने बताएकी छन्। प्रक्रिया निष्पक्ष भएमा विजयी उम्मेदवारले गर्वका साथ जीत स्वीकार गर्न सक्ने र पराजित उम्मेदवारले सम्मानपूर्वक परिणाम स्वीकार गर्न सक्ने उनको भनाइ छ।
वास्तोलाले यस विषयमा पार्टीको केन्द्रीय निर्वाचन आयोगमा आधिकारिक उजुरी दर्ता गराइसकेको जानकारी दिँदै चित्तबुझ्दो जवाफ नआएको तथा विषयलाई दबाउने प्रयास भएको अनुभूति भएपछि कानुनी उपचारका लागि सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेको बताएकी छन्।
उनले यो संघर्ष व्यक्तिगत स्वार्थका लागि नभई आफूलाई विश्वास गरेर मत दिएका ९१३ प्रतिनिधिको मतको सम्मान, पारदर्शिता, सही प्रक्रिया तथा संस्थागत न्यायको पक्षमा भएको उल्लेख गरेकी छन्।
‘पदभन्दा ठूलो पद्धति हुन्छ र म पद्धतिको पक्षमा अन्तिमसम्म उभिनेछु,’ विज्ञप्तिमा भनिएको छ।














