उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा नवराज काफ्ले : ‘डिजिटल, व्यवसायीमैत्री र समृद्ध इटहरी’ बनाउने प्रतिबद्धता

Listen to this article
1 minute read

इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचन–२०८३ मा अध्यक्ष पदका उम्मेदवार नवराज काफ्ले व्यवसायी समुदायका साझा उम्मेदवारका रूपमा चर्चामा आएका छन्। “व्यावसायिक समृद्धिका सूत्रधार, आजको भरोसा भोलिको आधार” भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएका काफ्लेले व्यवसायी हित, डिजिटल सेवा, लगानीमैत्री वातावरण र चलायमान बजार व्यवस्थापनलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।

इटहरीको व्यापारिक इतिहाससँग जोडिएको काफ्ले परिवारका सदस्य नवराज काफ्ले तीन दशकभन्दा बढी समयदेखि व्यवसाय क्षेत्रमा सक्रिय छन्। उद्योग वाणिज्य संघ इटहरीमा लगातार तीन कार्यकाल निर्वाचित सदस्य रहिसकेका उनले संघको भवन निर्माण समितिको कोषाध्यक्षका रूपमा समेत जिम्मेवारी सम्हाल्दै संस्थागत विकासमा उल्लेखनीय योगदान दिएका छन्।

सुनसरीको प्रकाशपुरमा जन्मिए पनि बाल्यकालदेखि इटहरीमै हुर्किएका काफ्लेले स्वर्गीय पिता जीवनाथ काफ्लेको प्रेरणामा व्यवसायिक यात्रा सुरु गरेका हुन्। “जागिर खाने होइन, जागिर दिने मान्छे बन्नु” भन्ने पिताको सन्देशलाई जीवनको मूलमन्त्र बनाउँदै उनले विदेश जाने अवसर त्यागेर स्वदेशमै उद्यमशीलताको बाटो रोजेका थिए।

इट्टा उद्योगबाट सुरु भएको उनको व्यवसायिक यात्रा होटल, कृषि, पशुपालन तथा व्यापार क्षेत्रमा विस्तार भएको छ। हाल उनले पशुपति होटल, पशुपति लाइभस्टक एन्ड कृषि फार्म तथा पशुपति ट्रेड एन्ड सप्लायर्समार्फत सयौं व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी प्रदान गर्दै आएका छन्।

व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय काफ्ले नेपाल रेडक्रस सोसाइटी इटहरीका यशस्कर सदस्य हुन्। उनी लियो क्लब अफ इटहरी सुनसरी तथा लायन्स क्लब अफ इटहरी सिटीका पूर्वअध्यक्षसमेत हुन्। विभिन्न सामाजिक तथा मानवीय अभियानमा उनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै काफ्लेले उद्योग वाणिज्य संघलाई समयअनुकूल, प्रविधिमैत्री र व्यवसायीमैत्री संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार सदस्यता नवीकरणलाई मोबाइल एपमार्फत घरबाटै गर्न सकिने व्यवस्था, बैंकिङ तथा करसम्बन्धी समस्या समाधानका लागि पहल, लगानीमैत्री वातावरण निर्माण, स्टार्टअप व्यवसायलाई प्रोत्साहन तथा व्यवसायीको आवाजलाई प्रभावकारी रूपमा उठाउने योजना रहेका छन्।

इटहरीको आर्थिक गतिविधिलाई थप गतिशील बनाउन रात्रिकालीन बजार सञ्चालनको अवधारणालाई पनि उनले प्राथमिकतामा राखेका छन्। “इटहरी साँझमै सुत्ने शहर होइन, आर्थिक गतिविधि रातिसम्म चल्ने व्यापारिक केन्द्र बन्नुपर्छ,” भन्दै काफ्लेले व्यवसायी र स्थानीय सरकारबीच सहकार्य तथा समन्वयलाई जोड दिएका छन्।

घरबहाल कर, बजार व्यवस्थापन, व्यवसायीको सुरक्षा, नीतिगत सुधार तथा लगानी संरक्षणलाई प्राथमिक एजेन्डा बनाएका काफ्लेले उद्योग वाणिज्य संघलाई केवल प्रमाणपत्र वितरण गर्ने संस्था नभई व्यवसायीको अधिकार र हितको सशक्त आवाज बनाउने लक्ष्य लिएको बताएका छन्।

पिता जीवनाथ काफ्लेको सामाजिक योगदान, परिवारको विश्वास र आफ्नै तीन दशक लामो व्यवसायिक अनुभवलाई आधार बनाएर चुनावी मैदानमा उत्रिएका नवराज काफ्ले इटहरीलाई आधुनिक, डिजिटल तथा व्यापारमैत्री सहर बनाउने लक्ष्यसहित मतदातामाझ पुगेका छन्। अनुभव, स्पष्ट योजना र व्यवसायीप्रतिको प्रतिबद्धताका कारण उनी अध्यक्ष पदका बलिया उम्मेदवारका रूपमा हेरिएका छन्।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *