इटहरी । इटहरी उद्योग वाणिज्य संघको निर्वाचन–२०८३ अन्तर्गत वाणिज्य सदस्य पदका लागि युवा व्यवसायी सिनेट रिजालले उम्मेदवारी दिएका छन्।
व्यवसायीको हकहित संरक्षण, संघको डिजिटल सशक्तीकरण तथा व्यवसायमैत्री वातावरण निर्माणलाई मुख्य प्राथमिकतामा राख्दै उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
रिजालले व्यवसाय प्रवर्द्धन, संघका सेवाहरूलाई डिजिटल माध्यमबाट थप पारदर्शी, छिटो र सहज बनाउने तथा उद्योगी–व्यवसायीबीच एकता र सहकार्यलाई मजबुत बनाउने आफ्नो प्रमुख एजेन्डा रहेको बताएका छन्। साथै, बजार विस्तारका नयाँ अवसरको खोजी, व्यवसायीका साझा समस्याको समाधान र संघलाई समयानुकूल तथा प्रविधिमैत्री संस्थाका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ छ।
उनको चुनावी अभियानमा ‘सिनेट रिजाललाई अत्यधिक मतले विजयी गराऔँ’ भन्ने नारासहित व्यवसायी सदस्यहरूसँग समर्थनको अपिल गरिएको छ।

आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न पदका उम्मेदवारहरूले आफ्ना प्रतिबद्धता र योजनासहित चुनावी अभियानलाई तीव्र बनाइरहेका छन्। यसैक्रममा रिजालले आफू निर्वाचित भए व्यवसायीको हितलाई केन्द्रमा राखी संघको प्रभावकारी, पारदर्शी र आधुनिक विकासका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।













