इटहरी | Kindergarten Montessori Childcare Association (KMCA), इटहरी, सुनसरी को आयोजनामा “विद्यार्थी मूल्याङ्कन अभिलेख कार्यसञ्चालन तथा एकीकृत पाठ्यक्रम मूल्याङ्कन (आधारभूत तह १–५) सम्बन्धी एकदिने कार्यशाला तालिम” शनिबार इटहरी–२०, पचरुखीस्थित लायन्स भवन मा भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ।
शिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने, विद्यार्थी मूल्याङ्कन प्रणालीलाई व्यवहारिक तथा प्रभावकारी बनाउने तथा विद्यालयमा गुणस्तरीय शिक्षण–सिकाइ वातावरण सिर्जना गर्ने उद्देश्यले आयोजित उक्त तालिममा इटहरी क्षेत्रका २७ वटा विद्यालयबाट करिब १६० जना शिक्षक–शिक्षिकाको उल्लेखनीय सहभागिता रहेको थियो।
तालिममा सहभागी शिक्षकहरूलाई विद्यार्थी मूल्याङ्कन अभिलेख व्यवस्थापन, एकीकृत पाठ्यक्रमअनुसार सिकाइ उपलब्धिको मूल्याङ्कन, कक्षाकोठामा प्रयोग गर्न सकिने व्यवहारिक विधि, निरन्तर विद्यार्थी मूल्याङ्कन तथा अभिलेखीकरणका विविध पक्षबारे विस्तृत रूपमा प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षकहरूले सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अभ्यास, छलफल, प्रश्नोत्तर तथा अनुभव आदानप्रदानमार्फत तालिमलाई अझ प्रभावकारी बनाएका थिए।
कार्यक्रममा सहभागी शिक्षकहरूले प्राप्त ज्ञान र सीपलाई आफ्ना विद्यालय तथा कक्षाकोठामा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस्ता तालिमले शिक्षण पेसामा नयाँ ऊर्जा र आत्मविश्वास थपेको प्रतिक्रिया दिएका थिए।
कार्यक्रमका अध्यक्ष तथा KMCA का अध्यक्ष हरि आचार्य ले शिक्षकको क्षमता विकास नै गुणस्तरीय शिक्षाको आधार भएको उल्लेख गर्दै यस्ता व्यावसायिक विकासमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले तालिम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण विद्यालय, प्रिन्सिपल, शिक्षक–शिक्षिका, पदाधिकारी तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
उहाँले विशेष रूपमा सचिव स्मृति म्याम, कोषाध्यक्ष सुनिता म्याम तथा गणेश कोइराला सर को अथक मेहनत, उत्कृष्ट समन्वय र समर्पणका कारण कार्यक्रम व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक रूपमा सम्पन्न भएको उल्लेख गर्दै विशेष धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रमको समापनमा सहभागी सम्पूर्ण शिक्षक–शिक्षिकालाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै, तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई विद्यालय तथा कक्षाकोठामा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै विद्यार्थीको सिकाइ उपलब्धि र शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउन सबैलाई आग्रह गरिएको थियो।

KMCA ले प्रारम्भिक बालविकास तथा आधारभूत शिक्षाको गुणस्तर सुधार, शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि र विद्यालयहरूबीच सहकार्य तथा अनुभव आदानप्रदानलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ आगामी दिनहरूमा पनि यस्ता सिर्जनात्मक, समयसापेक्ष र प्रभावकारी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।













