इटहरी, असार १४ — होटल तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले इटहरीमा निःशुल्क २१ दिने बारिस्टा तालिम सुरु भएको छ।
दिगो पर्यटन परियोजनाको आयोजनामा तथा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको संयोजनमा आइतबारदेखि सुरु भएको तालिममा ३० भन्दा बढी सहभागीको सहभागिता रहेको छ।
संघका अध्यक्ष तेजबहादुर पुरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पर्यटन वर्ष २०८२ का सहसंयोजक भविष श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा अध्यक्ष पुरीले तालिमले होटल तथा पर्यटन क्षेत्रमा आवश्यक दक्ष बारिस्टा जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गर्दै तालिम पूरा गरेका सहभागीलाई रोजगारीको अवसर उपलब्ध गराउन संघले आवश्यक पहल गर्ने बताउनुभयो।
प्रमुख अतिथि श्रेष्ठले पर्यटन क्षेत्रको विकासका लागि यस्ता सीपमूलक तालिम आवश्यक रहेको उल्लेख गर्दै पर्यटन क्षेत्रलाई निरन्तर सहयोग गर्ने र तालिमबाट सीप हासिल गरेका युवालाई रोजगारीसँग जोड्न पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा होटल व्यवसाय महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष देवी गौतम (रबिन), पर्यटन वर्ष २०८२ का सहसंयोजक कृष्ण शाह, होटल तथा पर्यटन व्यवसाय संघ कोशी प्रदेशका महासचिव उमानाथ दाहाल, होटल तथा लज व्यवसाय समिति इटहरीका अध्यक्ष दिपक पोखरेल, नेपाल रेडक्रस सोसाइटी इटहरी शाखाका सभापति दिनेश भट्टराई लगायत होटल तथा पर्यटन व्यवसायीहरूको उपस्थिति रहेको थियो।
आयोजकका अनुसार तालिममा कफी तयारी, एस्प्रेसो मेसिन सञ्चालन, ग्राहक सेवा तथा क्याफे व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिनेछ। तालिम पूर्ण रूपमा निःशुल्क रहेको र तालिम पूरा गरेका सहभागीलाई होटल तथा क्याफे क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न पहल गरिने लक्ष्य राखिएको छ।














