इटहरी । कोशी प्रदेश पौडी संघको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको संयोजनमा आयोजित तेस्रो कोशी प्रदेश स्तरीय खुला पौडी प्रतियोगिता सम्पन्न भएको छ।
असार १४ र १५ गते इटहरीस्थित ओसियन पार्क एन्ड रिसोर्टको सेमी ओलम्पिक स्विमिङ पुलमा सम्पन्न प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाबाट करिब १८० जना महिला तथा पुरुष खेलाडीहरूको सहभागिता रहेको थियो।
पोइन्ट प्रणालीका आधारमा सञ्चालन गरिएको प्रतियोगितामा मोरङ समग्र प्रथम बन्दै च्याम्पियन बनेको छ। भोजपुर दोस्रो तथा झापा तेस्रो स्थान हासिल गर्न सफल भए।
समग्र विजेता मोरङले ५० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो स्थान प्राप्त भोजपुरले ३० हजार रुपैयाँ तथा तेस्रो स्थानमा रहेको झापाले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। साथै प्रत्येक इभेन्टका उत्कृष्ट तीन खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
कोशी प्रदेश पौडी संघका अध्यक्ष डम्बरबहादुर तामाङले प्रतियोगिताले प्रदेशमा पौडी खेलको विकास र विस्तारसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। संघले विगत तीन वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आएको र आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिने जानकारी उहाँले दिनुभयो।
समापन समारोहका प्रमुख अतिथि तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले यस्ता प्रतियोगिताले खेलाडीहरूको क्षमता अभिवृद्धि, प्रतिस्पर्धात्मक भावना विकास तथा प्रदेशमा खेल संस्कृतिको विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

प्रतियोगिताको उद्घाटन आइतबार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशव कार्कीको प्रमुख आतिथ्यमा भएको थियो। उद्घाटन तथा समापन कार्यक्रममा खेलकुद क्षेत्रसँग आबद्ध विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।













