भोजपुर । यही असार १४ र १५ गते इटहरीमा सम्पन्न तेस्रो कोशी प्रदेश स्तरीय पौडी प्रतियोगितामा भोजपुर नगरपालिका–बोखिम निवासी प्रकाश राई र मिना राईकी छोरी सिशोमबुन राईले उत्कृष्ट प्रदर्शन गर्दै नौवटा स्वर्ण पदक जित्न सफल भएकी छन्।
सिशोमबुनको ऐतिहासिक सफलतासँगै भोजपुर जिल्लाले प्रतियोगितामा द्वितीय स्थान हासिल गरेको छ। उनको उत्कृष्ट प्रदर्शनले जिल्लाको खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्नुका साथै भावी राष्ट्रिय स्तरकी सफल पौडी खेलाडी बन्ने सम्भावना पनि उजागर गरेको छ।
परिवारको निरन्तर साथ, लगानी, मेहनत र नियमित अभ्यासका कारण सिशोमबुनले छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेकी हुन्। खेलप्रतिको समर्पण र अनुशासनलाई निरन्तरता दिन सके उनले भविष्यमा प्रदेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको प्रतिनिधित्व गर्ने विश्वास गरिएको छ।

उनको यस गौरवपूर्ण उपलब्धिप्रति परिवार, प्रशिक्षक, विद्यालय, शुभेच्छुक तथा सम्पूर्ण भोजपुरवासीले बधाई व्यक्त गर्दै आगामी दिनमा अझ ठूलो सफलता प्राप्त गर्न शुभकामना दिएका छन्।













