उत्सवले भरिँदैन किसानको घाउ : सरकारलाई देवराज तामाङको प्रश्न

Listen to this article
1 minute read


सुन्दरहरैचा : देशभर राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व धुमधामका साथ मनाइरहँदा नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का सभापति देवराज तामाङले किसानका वास्तविक समस्या समाधानतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै तामाङले धान रोपाइँ दिवस उत्सवका रूपमा मनाइए पनि किसानका समस्या भने वर्षौंदेखि जस्ताको त्यस्तै रहेको बताएका छन्। उनले मलखादको अभाव, कृषि सामग्रीको महँगी, सिँचाइको समस्या तथा उत्पादनको उचित मूल्य नपाउने अवस्थाले किसानहरू निरन्तर पीडित बनेको उल्लेख गरेका छन्।

तामाङले लेखेका छन्, “धुमधाम साथ मनाइयो असार १५ धान रोपाइँ दिवस, तर उस्तै छ किसानको समस्या, मलखादको अभाव। उत्सवले मात्र भरिँदैन किसानको पीडा र घाउ, सरकारले कहिले बुझ्ने—अन्नदाताको वास्तविक चाहना र दुःखको भाव ?”

उनको भनाइले अहिलेको कृषि क्षेत्रको यथार्थ चित्रण गरेको भन्दै सामाजिक सञ्जालमा धेरैले समर्थन जनाएका छन्। धान दिवसका अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी निकायले रोपाइँ कार्यक्रम, दही–चिउरा भोज तथा सांस्कृतिक कार्यक्रम आयोजना गरे पनि किसानहरूले भने पर्याप्त मलखाद नपाउने, समयमा बीउ नपाउने र कृषि उत्पादनको बजार सुनिश्चित नहुने समस्यासँग जुध्नुपरेको छ।

तामाङले सरकारले किसानलाई केवल कार्यक्रम र नारामा सीमित नराखी व्यवहारिक रूपमा सहयोग गर्नुपर्ने बताएका छन्। उनले कृषि क्षेत्रलाई देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा लिएर किसानमैत्री नीति, सहज रूपमा रासायनिक मलको उपलब्धता, आधुनिक कृषि प्रविधिको पहुँच तथा उत्पादनको उचित मूल्य सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

नेपाल कृषि प्रधान देश भए पनि किसानहरू अझै पनि आधारभूत आवश्यकताका लागि संघर्ष गर्न बाध्य हुनु दुःखद भएको उनको भनाइ छ। राज्यले किसानलाई ‘अन्नदाता’ भनेर सम्मान गर्ने मात्र होइन, उनीहरूको जीवनस्तर सुधारका लागि ठोस कार्यक्रम ल्याउनुपर्ने उनको जोड छ।

धान दिवसले किसानप्रति सम्मान व्यक्त गर्ने अवसर दिए पनि वास्तविक सम्मान भने किसानका समस्या समाधानमा राज्य गम्भीर बनेपछि मात्रै हुने तामाङको भनाइ छ। उनले किसानका पीडा र समस्यालाई केवल एक दिनको उत्सवमा सीमित नराखी वर्षभरि सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *