नगरप्रमुख आचार्यको स्वास्थ्य अभियान सफल, अस्पताललाई करोडौँका सामग्री

Listen to this article
1 minute read

काठमाडौं : सर्लाहीको ईश्वरपुर नगरपालिका–बयलवासस्थित ईश्वरपुर नगर अस्पतालले स्वास्थ्य सेवामा ठूलो फड्को मार्ने गरी करिब तीन करोड रुपैयाँ बराबरका स्वास्थ्य उपकरण तथा सामग्री प्राप्त गरेको छ। हेल्पिङ ह्यान्ड संस्थाले अस्पताललाई २१३ प्रकारका अत्याधुनिक स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरेको हो।

नगरप्रमुख मनोजकुमार आचार्यले यो सहयोगले ईश्वरपुर नगरपालिकाको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल भएको बताउँदै अब स्थानीय नागरिकले सामान्य उपचारका लागि पनि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुने विश्वास व्यक्त गरे।

“हाम्रो मुख्य उद्देश्य भनेको नगरवासीलाई आफ्नै नगरभित्र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हो। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राखेर हामीले विभिन्न निकायसँग समन्वय र पहल गरिरहेका थियौं। त्यसकै परिणामस्वरूप आज नगर अस्पतालले करिब तीन करोड रुपैयाँ बराबरका उपकरण प्राप्त गरेको छ,” नगरप्रमुख आचार्यले बताए।

उनले प्राप्त सामग्रीमध्ये अत्यावश्यक उपकरणहरू तत्काल ईश्वरपुर नगर अस्पतालमै जडान गरी सञ्चालनमा ल्याइने र बाँकी सामग्री नगरभित्र रहेका स्वास्थ्य चौकीहरूमा आवश्यकताका आधारमा वितरण गरिने जानकारी दिए। यसले नगरका सबै वडाका नागरिकले प्रत्यक्ष रूपमा लाभ लिन सक्ने उनको भनाइ छ।

नगरप्रमुख आचार्यका अनुसार नगरपालिकाले स्वास्थ्य सेवालाई नागरिकको आधारभूत अधिकारका रूपमा लिएर अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा उपकरण विस्तारमा निरन्तर लगानी गर्दै आएको छ। अब नयाँ उपकरण थपिएपछि नगर अस्पतालको सेवा क्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ।

ईश्वरपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुगेन्द्र महतोका अनुसार अस्पतालले प्राप्त गरेका २१३ प्रकारका उपकरण तथा सामग्रीमा विभिन्न उपचार उपकरण, स्वास्थ्य सामग्री, परीक्षणका सामग्री तथा अस्पताल सञ्चालनका लागि आवश्यक अन्य औजारहरू समावेश छन्। ती सामग्रीले बिरामीको उपचारमा गुणस्तर वृद्धि गर्नुका साथै स्वास्थ्य सेवाको पहुँचलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।

हेल्पिङ ह्यान्डका कार्यक्रम व्यवस्थापक जीवप्रसाद पोखरेलले ग्रामीण क्षेत्रका नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले सहयोग गरिएको बताए। उनले ईश्वरपुर नगरपालिकाले स्वास्थ्य क्षेत्र सुधारका लागि देखाएको सक्रियता र प्रतिबद्धताका कारण संस्थाले सहयोग गर्न प्रेरणा पाएको उल्लेख गरे।

नगरप्रमुख आचार्यले स्वास्थ्य क्षेत्रमा भएको यो सहयोग केवल उपकरण हस्तान्तरणमा सीमित नरहने बताउँदै आगामी दिनमा नगर अस्पताललाई थप व्यवस्थित, प्रविधिमैत्री र नागरिकमैत्री स्वास्थ्य संस्थाको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। उनले नगरपालिकाले स्वास्थ्य सेवा सुधारलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न संघसंस्था र दातृ निकायसँग सहकार्यलाई निरन्तरता दिने पनि प्रतिबद्धता व्यक्त गरे।

स्थानीयवासीले समेत नगर अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामग्री भित्रिनुलाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूले यसबाट नगरवासी मात्र नभई आसपासका स्थानीय तहका नागरिकसमेत लाभान्वित हुने विश्वास व्यक्त गरेका छन्।

करिब तीन करोड रुपैयाँ बराबरका स्वास्थ्य उपकरण तथा सामग्री प्राप्त भएसँगै ईश्वरपुर नगर अस्पतालको सेवा विस्तार, उपचार क्षमता वृद्धि तथा ग्रामीण भेगका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानमा नयाँ ऊर्जा थपिएको नगरपालिकाले जनाएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *