उवासंघ इटहरीको साधारणसभामा व्यवसायीहरूको एकै स्वर – ‘नीति नसच्चिए निजी क्षेत्र थप संकटमा पर्छ’

Listen to this article
1 minute read

इटहरी। आर्थिक मन्दी, कमजोर बजार, उच्च बैंक ब्याजदर तथा नीतिगत अन्योलका कारण उद्योग–व्यवसाय सञ्चालन चुनौतीपूर्ण बन्दै गएको भन्दै इटहरीका उद्योगी–व्यवसायीहरूले सरकारसँग तत्काल व्यवसायमैत्री नीति ल्याउन माग गरेका छन्।

उद्योग वाणिज्य संघ इटहरीको २६औँ तथा २७औँ वार्षिक साधारणसभाको अवसरमा बिहीबार आयोजित कार्यक्रममा सहभागी व्यवसायीहरूले निजी क्षेत्रको मनोबल खस्कँदै गएको, लगानीको वातावरण कमजोर बन्दै गएको तथा उद्योग–व्यवसाय धराशायी हुने अवस्था सिर्जना भएको भन्दै सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरे।

व्यवसायीहरूले कर प्रणालीको जटिलता, बैंकको उच्च ब्याजदर, बजारमा उपभोगमा आएको गिरावट, तरलता अभाव तथा नीतिगत अस्थिरताले व्यवसाय सञ्चालन कठिन बन्दै गएको उल्लेख गर्दै लगानी, उत्पादन र रोजगारी जोगाउन राज्य गम्भीर हुनुपर्ने धारणा राखे।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुलुकको आर्थिक विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जनाको प्रमुख आधार निजी क्षेत्र भएकाले सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ प्रभावकारी बनाउनुपर्ने बताए।

उनले स्वदेशी उत्पादनको प्रवर्द्धन, उद्योग विस्तार तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सरकारका नीति पनि त्यसैअनुसार केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे।

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले आफ्नो तीन वर्षे कार्यकालमा संघले व्यवसायीका समस्या समाधान, सरकारी निकायसँग समन्वय तथा निजी क्षेत्रका साझा मुद्दा उठाउने कामलाई प्राथमिकता दिएको बताए। उनले वर्तमान आर्थिक चुनौती समाधान गर्न सरकार संवेदनशील बन्नुपर्ने र व्यवसायीको आत्मविश्वास बढाउने नीति आवश्यक रहेको बताए।

कार्यक्रममा पूर्व भूमिसुधार मन्त्री रामकुमार सुब्बा, घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख राजन पाण्डे तथा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत डिल्लीराम पौडेलले वर्तमान आर्थिक अवस्था, कर प्रशासन र उद्योग–व्यवसायसँग सम्बन्धित समसामयिक विषयमा आ–आफ्ना धारणा राखेका थिए।

सोही अवसरमा स्थानीय अर्थतन्त्र, उद्यमशीलता तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यवसायी उमेश पौडेल, मनोज चौधरी, पूर्णकाजी श्रेष्ठ, विमलकुमार राठी तथा तुलसा कालाखेतीलाई सम्मान गरिएको थियो।

यसैबीच, उद्योग वाणिज्य संघ इटहरीको नयाँ नेतृत्व चयनका लागि आगामी असार २७ गते निर्वाचन हुँदैछ। अध्यक्ष पदका लागि नवराज काफ्ले र गायत्री कटवाल भण्डारी नेतृत्वका दुई समूह चुनावी प्रतिस्पर्धामा छन्।

साधारणसभामा सहभागी व्यवसायीहरूले आगामी नेतृत्वले निजी क्षेत्रका साझा मुद्दालाई अझ सशक्त रूपमा उठाउँदै व्यवसायमैत्री वातावरण निर्माणका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेका छन्।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *