भोजपुर । भोजपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै नौवटै स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भइसकेपछि जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।
स्वास्थ्य कार्यालय भोजपुरमा आयोजित घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति भोजपुरका कार्यवाहक सभापति तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष अनीशा खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजन पौडेल, नौवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
स्वास्थ्य कार्यालय भोजपुरका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले खोप तालिकाअनुसार आवश्यक सम्पूर्ण खोप समयमै प्राप्त गरेको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको अवधारणाले लक्षित उमेर समूहका सबै बालबालिकालाई नियमित रूपमा खोपको पहुँचमा ल्याउनुका साथै आगामी दिनमा पनि उक्त उपलब्धिलाई निरन्तर कायम राख्ने उद्देश्य लिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला खोप समन्वय समितिका अध्यक्ष अनीशा खड्काले पूर्ण खोप सुनिश्चितता कायम राख्न स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायबीचको समन्वय र सहकार्यलाई निरन्तरता दिनुपर्ने बताइन्।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी राजन पौडेलले पूर्ण खोप सुनिश्चितता घोषणा मात्रै नभई यसको दिगोपना कायम राख्नु सबै सरोकारवालाको साझा जिम्मेवारी भएको उल्लेख गर्दै जन्मेदेखि १५ महिनासम्मका कुनै पनि बालबालिका नियमित खोपबाट वञ्चित हुन नदिन सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिए।

भोजपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएसँगै अब नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै खोप तालिकाअनुसार सबै बालबालिकाले समयमै सबै खोप प्राप्त गर्ने व्यवस्था थप सुदृढ गरिने स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ।













