सुन्दरहरैचा : मोरङको सुन्दरहरैँचा–५, खोर्सानेस्थित बिज्ञा मेडिकल हल एण्ड पोलिक्लिनिकले आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ४८ जनाले स्वास्थ्य परीक्षण गराएका छन्।
ग्रीन क्रस अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा वरिष्ठ फिजिसियन, बालरोग विशेषज्ञ, स्त्री तथा प्रसूति रोग विशेषज्ञ, न्यूरोसर्जन तथा जनरल सर्जनलगायत विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए।
शिविरमा सहभागी सर्वसाधारणले मधुमेह, थाइराइड, रक्तचाप, पेट तथा छातीसम्बन्धी समस्या, बालरोग, स्त्रीरोग लगायत विभिन्न स्वास्थ्य समस्याको परीक्षण तथा परामर्श प्राप्त गरेका थिए। साथै आवश्यक परेका बिरामीहरूलाई थप उपचार र नियमित फलोअपका लागि सुझावसमेत दिइएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार ग्रामीण तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। शिविरप्रति स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको र आगामी दिनमा पनि यस्ता सामाजिक स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने बिज्ञा मेडिकल हल एण्ड पोलिक्लिनिकले जनाएको छ।













