स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

धनकुटाको छथर जोरपाटी गाउँपालिका द्धारा आर्थिक वर्ष २०८३÷०८४ का लागि ४६ करोड रुपैया बराबरको बजेट सार्वजनिक

इटहरी । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि ४६ करोड रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको आइतबार बसेको गाउँसभामा उपाध्यक्ष गीता गुरुङ खेवाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो। गाउँपालिकाले आगामी आर्थिक वर्षमा कृषि तथा पशुपालनलाई आर्थिक विकासको मुख्य आधार बनाउने नीति लिएको छ। ’पशुपालन, सहकारी, उद्योग, उत्पादन वृद्धि, मूल्य अभिवृद्धि र बजार सुनिश्चितता–समृद्ध गाउँपालिकाको साझा प्रतिबद्धता’ भन्ने नारासहित उत्पादन वृद्धि र बजारीकरणलाई प्राथमिकतामा राखिएको छ। 

पर्यटन क्षेत्रको विकासका लागि ’पर्यटन पूर्वाधारको विकास गरौं, छथर जोरपाटी गाउँपालिकालाई चिनाऔं’ भन्ने अभियान सञ्चालन गर्दै गाउँपालिकालाई दिगो तथा पर्यटनमैत्री गन्तव्यका रूपमा विकास गर्न विशेष गुरुयोजना तयार गरी कार्यान्वयन गरिने बजेटमा उल्लेख छ। स्वास्थ्य क्षेत्रतर्फ ’म स्वस्थ, मेरो पालिका स्वस्थ, मेरो देश स्वस्थ’ भन्ने नारासहित पूर्ण खोप सेवा, पोषण कार्यक्रम, गर्भवती प्रोत्साहन भत्ता, मातृ–शिशु कल्याण, परिवार नियोजन तथा सुरक्षित प्रजनन स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने भएको छ। स्वास्थ्य बिमाको शुल्कमा ५० प्रतिशत अनुदान तथा २४ घण्टे प्रसूति सेवालाई पनि प्राथमिकतामा राखिएको छ। यसै आर्थिक वर्षदेखि गाउँपालिकाले ’शिशु बचत–लखपति कार्यक्रम’ सुरु गर्ने भएको छ। 

गाउँपालिकाभित्र जन्मिने प्रत्येक शिशुको सुरक्षित भविष्य र उच्च शिक्षालाई लक्षित गर्दै मुद्दती बचत खाता खोलिनेछ। कार्यविधि अनुसार जम्मा गरिएको रकम शिशु १८ वर्ष पुगेपछि निकाल्न सक्ने व्यवस्था गरिनेछ। यस कार्यक्रमका लागि ४ करोड १ लाख रुपैयाँ विनियोजन गरिएको बजेटमा उल्लेख छ । यसअघि असार ७ गते नीति तथा कार्यक्रम सार्वजनिक गरेको गाउँपालिकाले बजेटमा पनि कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट आएको गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०८२÷०८३ मा गाउँपालिकाले ४९ करोड ६० लाख ७० हजार रुपैयाँको बजेट ल्याएको थियो। यस वर्ष भने बजेट अघिल्लो वर्षको तुलनामा ३ करोड ६० लाख ७० हजार रुपैयाँले घटाइएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *