बराहक्षेत्र।धर्तीको पहिलो तीर्थका रूपमा प्रसिद्ध बराहक्षेत्र मन्दिर क्षेत्रस्थित गुप्तवराहलाई धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा मोनोरेल परियोजना अघि बढाउने योजना सार्वजनिक गरेको छ। नगरपालिकाले कोशी प्रदेश सरकारसँग समन्वय गरेर परियोजनालाई कार्यान्वयनतर्फ लैजाने तयारी गरेको हो।
बराहक्षेत्र नगरपालिका-१ अन्तर्गत सप्तकोशी नदी किनारस्थित गुप्तवराह क्षेत्रदेखि बराहक्षेत्र मन्दिरसम्म सञ्चालन गर्ने प्रस्तावित मोनोरेलको प्रारम्भिक सम्भाव्यता अध्ययन तथा प्राविधिक सर्भे कोशी प्रदेश सरकारको सहयोगमा सम्पन्न भएको छ। २४ लाख रुपैयाँ लागतमा गरिएको उक्त अध्ययनपछि प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत मोनोरेल परियोजनाका लागि ३ करोड रुपैयाँ विनियोजन गरेको छ। यसले स्थानीयवासी तथा धार्मिक क्षेत्रसँग सरोकार राख्ने निकायहरूमा नयाँ उत्साह थपेको छ।
मनोरेलको योजनाले कोशी किनार क्षेत्रमा पर्यटकीय गतिविधि विस्तार, मुन्दुम ट्रेल प्रवर्धन गर्ने, ‘वराहक्षेत्र-धरा-इटहरी धार्मिक पर्यटन सर्किट’ विकास गर्ने नगरपालिकाको योजनालाई सघाउने नगर प्रमुख रमेश कार्कीले बताए । गुप्तवराहलाई धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा मोनोरेल परियोजना अघि बढाएको उनको भनाई छ ।
बराहक्षेत्र मन्दिरका प्रचारक तथा गुप्त बराहका प्रबद्बक पण्डित योगेश भण्डारीका अनुसार बराहक्षेत्र नगरपालिका सहित गुप्तवराह क्षेत्रको पहलमा करिब एक वर्षअघि नै मोनोरेल निर्माणको सम्भाव्यता अध्ययन गरिएको थियो । पछिल्लो पटक गत जेठ २४ गते कोशी प्रदेश सरकार र काठमाडौँका प्राविधिक टोलीसँगै मोनोरेल विज्ञ गुणराज ढकालको टोलीले स्थलगत अध्ययन गरेको हो ।
बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठका अनुसार मोनोरेल सञ्चालनमा आएपछि बराहक्षेत्र धार्मिक पर्यटनको प्रमुख आकर्षण बन्ने विश्वास गरिएको छ। उनका अनुसार यस परियोजनाले सप्तकोशी किनारको पर्यटकीय गतिविधि विस्तार गर्नुका साथै मुन्दुम ट्रेल प्रवर्द्धन र बराहक्षेत्र-धरान-इटहरी धार्मिक पर्यटन सर्किट विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गुप्तवराह धाम पुग्न हाल भौगोलिक कठिनाइ रहेको छ। विशेषगरी सप्तकोशी नदी किनारको दुर्गम अवस्थालाई मध्यनजर गर्दै श्रद्धालु तथा पर्यटकको सहज पहुँच सुनिश्चित गर्न मोनोरेलको अवधारणा अघि सारिएको अध्यक्ष श्रेष्ठले बताए।
गुप्तवराह निर्माण समितिका संयोजक रवि श्रेष्ठका अनुसार वैशाख महिनादेखि सम्भाव्यता अध्ययन र प्राविधिक सर्भे सुरु गरिएको हो। हाल प्राविधिक टोलीले स्थलगत अध्ययन, तथ्याङ्क सङ्कलन तथा प्राविधिक विश्लेषण गरिरहेको छ। विस्तृत प्रतिवेदन तयार हुन अझै एकदेखि दुई महिना लाग्ने अनुमान गरिएको उनले जानकारी दिए।
निर्माण समितिले मोनोरेललाई गुप्तवराह विकास योजनाकै महत्वपूर्ण अंगका रूपमा अघि बढाएको जनाएको छ। परियोजना सम्पन्न भएपछि बराहक्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व अझ उचाइमा पुग्ने विश्वास स्थानीय सरोकारवालाहरूले व्यक्त गरेका छन्।














