उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन : स्वतन्त्र समूहबाट सदस्य पदमा सुमित्रा भट्टराई, व्यवसायीका मुद्दा उठाउने प्रतिबद्धता

Listen to this article
1 minute read

इटहरी । उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन–२०८३ नजिकिँदै जाँदा अध्यक्ष पदकी उम्मेदवार गायत्री कटुवाल भण्डारी नेतृत्वको उद्योगी–व्यवसायीहरूको स्वतन्त्र समूह ले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ। यही समूहबाट सदस्य (महिला) पदकी उम्मेदवार सुमित्रा भट्टराई यतिबेला इटहरीका विभिन्न बजार क्षेत्रका उद्योगी–व्यवसायीसँग प्रत्यक्ष भेटघाट गर्दै मत मागिरहेकी छन्।

व्यवसायीका साझा समस्या, बजारको वर्तमान अवस्था तथा संघको भूमिकाबारे व्यवसायीसँग छलफल गर्दै भट्टराईले उद्योग वाणिज्य संघलाई सबै व्यवसायीको साझा र उत्तरदायी संस्थाका रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहेको बताएकी छन्। उनले साना, मझौला तथा महिला उद्यमीका आवाजलाई प्राथमिकताका साथ उठाउने र व्यवसायीको हकहितका लागि प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनका अनुसार पछिल्लो समय आर्थिक मन्दी, घट्दो व्यापार, बैंकको चर्को ब्याजदर, कर नीतिको जटिलता तथा व्यवसाय सञ्चालनमा देखिएका विभिन्न समस्याले व्यवसायीहरू निराश बनेका छन्। यस्ता समस्याको समाधानका लागि संघले सरकार तथा सम्बन्धित निकायसँग समन्वय गर्दै व्यवसायीको पक्षमा प्रभावकारी दबाब सिर्जना गर्नुपर्ने आवश्यकता रहेको उनले बताइन्।

स्वतन्त्र समूहले व्यवसायीको अधिकार संरक्षण, पारदर्शी नेतृत्व, संस्थागत सुधार, महिला उद्यमीको क्षमता अभिवृद्धि, नयाँ व्यवसाय प्रवर्द्धन तथा सदस्यहरूको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता सार्वजनिक गर्दै आएको छ। यही उद्देश्यसहित आफूहरूले चुनावी मैदानमा आएको समूहको भनाइ छ।

चुनावी अभियानका क्रममा भट्टराईले व्यवसायीहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको दाबी गर्दै व्यवसायीको विश्वास र समर्थनले आफूलाई थप उत्साहित बनाएको बताएकी छन्। उनले आगामी निर्वाचनमा आफूलाई अत्यधिक मतका साथ विजयी गराई उद्योग वाणिज्य संघलाई व्यवसायीमैत्री र परिणाममुखी संस्थाका रूपमा अघि बढाउने अवसर दिन सम्पूर्ण मतदाता व्यवसायीसँग आग्रह गरेकी छन्।

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन असार २७ गते हुने तय भएको छ। निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरूले यतिबेला घरदैलो, बजार भ्रमण, व्यवसायी भेटघाट तथा चुनावी अन्तरक्रियालाई तीव्रता दिएका छन्।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *