इटहरीको बजार व्यवस्थापनलाई डिजिटल र आधुनिक बनाउने प्रतिबद्धता : उम्मेदवार दुर्गा प्रसाद थापाको ‘स्मार्ट–क्लिन–ग्रिन इटहरी’ योजना सार्वजनिक

Listen to this article
1 minute read

इटहरी । इटहरी उद्योग वाणिज्य संघको आगामी निर्वाचनलाई लक्षित गर्दै वाणिज्य सदस्य पदका उम्मेदवार दुर्गा प्रसाद थापाले इटहरीको बजार व्यवस्थापनलाई आधुनिक, व्यवस्थित र व्यवसायमैत्री बनाउने प्रतिबद्धतासहित आफ्नो चुनावी योजना सार्वजनिक गरेका छन्। उनले “SMART • CLEAN • GREEN ITAHARI” भन्ने नारासहित बजार व्यवस्थापनमा दीर्घकालीन सुधार गर्ने अवधारणा अघि सारेका हुन्।

सार्वजनिक गरिएको अवधारणापत्रमा अहिलेको इटहरी बजार समयअनुसार परिवर्तन हुन नसकेको उल्लेख गर्दै अव्यवस्थित पार्किङ, उच्च ध्वनि प्रदूषण र बेलुका छिट्टै बजार बन्द हुने प्रवृत्तिले व्यापार व्यवसायमा नकारात्मक असर परेको दाबी गरिएको छ। ती समस्याको समाधानका लागि आधुनिक प्रविधिमा आधारित बजार व्यवस्थापन आवश्यक रहेको थापाको भनाइ छ।

उनले इटहरीका विभिन्न सरोकारवाला निकाय, स्थानीय सरकार, सुरक्षा निकाय तथा व्यवसायीहरूसँग समन्वय गरी डिजिटल रोड म्यापिङमा आधारित स्मार्ट पार्किङ प्रणाली लागू गर्ने योजना अघि सारेका छन्। यसबाट सडक किनारमा हुने अव्यवस्थित पार्किङ नियन्त्रण हुनुका साथै सवारी व्यवस्थापन सहज हुने र ग्राहकलाई पनि पार्किङ खोज्न सहज हुने विश्वास व्यक्त गरिएको छ।

थापाले बजारको व्यापारिक गतिविधिलाई थप चलायमान बनाउन हाल साँझ ७ बजेसम्म सीमित हुने अधिकांश व्यापारिक गतिविधिलाई कम्तीमा राति १२ बजेसम्म सञ्चालन हुने वातावरण निर्माण गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार बजार लामो समयसम्म सञ्चालन हुँदा व्यापार बढ्नुका साथै होटल, रेष्टुरेन्ट, यातायात, पर्यटन र सेवा क्षेत्रका व्यवसायसमेत प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

उनको घोषणापत्रमा धुलो, फोहोर तथा अव्यवस्थित बजार व्यवस्थापन अन्त्य गर्दै सफा र हरित इटहरी निर्माणलाई प्राथमिकतामा राखिएको छ। बजार क्षेत्रमा नियमित सरसफाइ, हरियाली प्रवर्द्धन, सुरक्षित व्यापारिक वातावरण तथा व्यवस्थित बजार संरचना निर्माणमा उद्योग वाणिज्य संघले स्थानीय सरकारसँग सहकार्य गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यसैगरी व्यवसायीको सुरक्षा, ग्राहकको सहज पहुँच तथा आधुनिक बजार व्यवस्थापन प्रणाली विकास गर्दै इटहरीलाई प्रदेशकै नमुना व्यापारिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य पनि घोषणापत्रमा समेटिएको छ। पर्यटन प्रवर्द्धन, रात्रिकालीन अर्थतन्त्रको विस्तार, रोजगारी सिर्जना र लगानीमैत्री वातावरण निर्माणमा विशेष जोड दिइएको छ।

थापाले व्यवसायीहरूको साझा हितलाई केन्द्रमा राखेर नीतिगत सुधार, आधुनिक प्रविधिको प्रयोग तथा व्यवसायीमैत्री वातावरण निर्माणका लागि आफू निरन्तर सक्रिय रहने बताएका छन्। उनले व्यक्तिगतभन्दा सामूहिक हितलाई प्राथमिकता दिँदै उद्योग वाणिज्य संघलाई व्यवसायीको वास्तविक आवाज बन्नुपर्ने धारणा राखेका छन्।

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले आफ्ना चुनावी एजेन्डा सार्वजनिक गर्ने क्रम तीव्र बनेको छ। बजार व्यवस्थापन, डिजिटल सेवा, पार्किङ, सरसफाइ, सुरक्षा तथा व्यापार प्रवर्द्धनलाई केन्द्रमा राखेर आएका यस्ता योजनाले व्यवसायी तथा मतदातामाझ छलफलको विषय बनेका छन्।

यदि यी प्रतिबद्धताहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिएमा इटहरीको व्यापारिक वातावरण थप व्यवस्थित, सुरक्षित र आकर्षक बन्ने अपेक्षा गरिएको छ। थापाले आफ्नो अभियानको मूल उद्देश्य “समृद्ध व्यवसाय, समृद्ध इटहरी” रहेको उल्लेख गर्दै व्यवसायीहरूको साथ र विश्वासको अपेक्षा गरेका छन्।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *