इटहरी । विगत २७ वर्षदेखि इटहरीमा व्यवसाय सञ्चालन गर्दै आएकी व्यवसायी पुनम थापा मगरले आफ्नो लामो व्यावसायिक अनुभवलाई उद्योगी–व्यवसायीहरूको हितमा प्रयोग गर्ने उद्देश्यसहित उद्योग वाणिज्य संघ इटहरीको सदस्य पदमा उम्मेदवारी दिएकी छन्।
सुमेरु होटलकी सञ्चालिका समेत रहेकी थापा मगर व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि निरन्तर सक्रिय रहँदै आएकी छन्। उनी आधा दर्जनभन्दा बढी सामाजिक तथा व्यावसायिक संघ–संस्थामा आबद्ध रहेर विभिन्न गतिविधिमा योगदान दिँदै आएकी छन्।
उनका अनुसार लामो समयदेखि इटहरीमा व्यवसाय सञ्चालन गर्दा उद्योगी–व्यवसायीहरूले भोग्दै आएका समस्या, चुनौती, आवश्यकता र अपेक्षालाई नजिकबाट बुझ्ने अवसर प्राप्त भएको छ। यही अनुभवका आधारमा उद्योग वाणिज्य संघ इटहरीमा रहेर सम्पूर्ण व्यवसायीहरूको हकहितको संरक्षण, व्यावसायिक वातावरणको सुधार तथा व्यवसायमैत्री नीति निर्माणका लागि सक्रिय भूमिका निर्वाह गर्ने उनको प्रतिबद्धता छ।
थापा मगरले उद्योग वाणिज्य संघ सबै व्यवसायीहरूको साझा संस्था भएकाले यसलाई अझ प्रभावकारी, उत्तरदायी र व्यवसायीमैत्री बनाउने लक्ष्यका साथ आफू सदस्य पदमा चुनावी मैदानमा उत्रिएको बताएकी छन्।

यही असार २७ गते हुने उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा आफूलाई सदस्य पदमा अमूल्य मत दिएर विजयी गराउन उनले सम्पूर्ण उद्योगी–व्यवसायीसँग सहयोग र समर्थनको अपिल गरेकी छन्।













