इटहरी । इटहरी उपमहानगरपालिका–१२ खनारस्थित वडा कार्यालय अगाडिको सडकमै केही व्यवसायीले सामान राखेर व्यापार सञ्चालन गर्दा पैदलयात्री र सवारीसाधन आवतजावतमा समस्या हुने गरेको स्थानीयले गुनासो गरेका छन्।
स्थानीयका अनुसार वडा कार्यालय तथा सम्बन्धित निकायले पटक–पटक सडक अतिक्रमण नगर्न आग्रह गरे पनि केही व्यवसायीले सडकमै सामान राख्ने कार्य दोहोर्याइरहेका छन्। यसले सडक साँघुरो हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढाएको छ।स्थानीयवासीले सार्वजनिक सडक सबैको साझा सम्पत्ति भएकाले व्यवसाय सञ्चालन गर्दा कानुनी मापदण्ड पालना गर्नुपर्ने बताएका छन्।

उनीहरूले सम्बन्धित निकायले निष्पक्ष रूपमा अनुगमन गरी सार्वजनिक सडकलाई अतिक्रमणमुक्त बनाउन आवश्यक कदम चाल्नुपर्ने माग गरेका छन्।प्रश्न उठेको छ— परिवर्तनको कुरा गर्ने हामी नै सार्वजनिक सडक अतिक्रमण गरेर नियम उल्लंघन गरिरहने हो त? सार्वजनिक हितलाई ध्यानमा राख्दै सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नु आजको आवश्यकता बनेको छ।













