३५ वर्षको अनुभवलाई मतमार्फत सम्मान गर्न व्यवसायीहरूसँग गायत्री कटुवाल भण्डारीको आग्रह

Listen to this article
1 minute read

इटहरी – उद्योग वाणिज्य सङ्घ इटहरीको आगामी निर्वाचन नजिकिँदै जाँदा अध्यक्ष पदकी स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारीले आफ्नो ३५ वर्षभन्दा लामो व्यावसायिक अनुभवलाई उद्योगी तथा व्यवसायीको सेवामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दै व्यवसायीहरूसँग मतदानको अपिल गरेकी छन्।

भण्डारीले विगत ३५ वर्षदेखि इटहरीमै निरन्तर व्यवसाय सञ्चालन गर्दै आएको अनुभवका आधारमा व्यवसायीका समस्या, चुनौती र सम्भावनाबारे आफू राम्रोसँग जानकार रहेको बताएकी छन्। उद्योग वाणिज्य सङ्घलाई सबै व्यवसायीको साझा संस्था बनाउने, साना, मझौला तथा ठूला व्यवसायीको हितलाई समान रूपमा सम्बोधन गर्ने र संस्थामा पारदर्शी तथा उत्तरदायी नेतृत्व स्थापित गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको उनले उल्लेख गरेकी छन्।

उनले उद्योगी–व्यवसायीहरूको स्वतन्त्र समूहको नेतृत्व गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउँदै व्यवसायीको सम्मान, अधिकार र संस्थागत विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। “उद्योग वाणिज्य सङ्घ कुनै सीमित व्यक्तिको संस्था नभई सम्पूर्ण उद्योगी–व्यवसायीको साझा घर हो,” भन्दै उनले सबै व्यवसायीलाई एकताबद्ध भएर संस्थालाई अझ सशक्त बनाउन आग्रह गरिन्।

निर्वाचन प्रचार–प्रसारका क्रममा सार्वजनिक गरिएको चुनावी सन्देशमार्फत भण्डारीले आफ्नो लामो अनुभव, इमानदारी र व्यवसायप्रतिको समर्पणलाई आधार बनाएर मतदान गर्न अनुरोध गरेकी छन्। उनले व्यवसायमैत्री वातावरण निर्माण, उद्योग–व्यवसायको संरक्षण, नयाँ उद्यमीलाई प्रोत्साहन, महिला उद्यमशीलताको विकास तथा संस्थालाई आधुनिक र प्रभावकारी बनाउने एजेन्डा अघि सारेकी छन्।

स्वतन्त्र समूहले अध्यक्ष पदका लागि क्रम संख्या २ मा गायत्री कटुवाल भण्डारीलाई उम्मेदवार बनाएको छ। समूहबाट महिला सदस्यमा पुनम थापा मगर (क्रम संख्या ३)सुमित्रा भट्टराई (क्रम संख्या ८), उद्योग सदस्यमा सुरज आङ्देम्बे (क्रम संख्या ५) तथा वाणिज्य सदस्यमा दुर्गा प्रसाद थापा (क्रम संख्या १०), हर्क बहादुर विक (क्रम संख्या ११), उषा सेढाई सत्याल (क्रम संख्या १२)निर्मला श्रेष्ठ (क्रम संख्या १३) उम्मेदवार रहेका छन्।

भण्डारीले इटहरीका सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई सक्षम, अनुभवी र व्यवसायीको भावना बुझ्ने नेतृत्व चयन गर्न आग्रह गर्दै आफ्नो पक्षमा मतदान गर्न अनुरोध गरेकी छन्। उनले भनिन्, “तपाईंहरूको एक–एक मतले इटहरीको उद्योग–व्यवसायको भविष्य निर्धारण गर्नेछ। त्यसैले सक्षम नेतृत्वलाई साथ दिई उद्योग वाणिज्य सङ्घलाई अझ सशक्त र व्यवसायीमैत्री संस्था बनाऔँ।”

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *