इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आसन्न निर्वाचनलाई लक्षित गर्दै स्वतन्त्र समूहका उद्योगतर्फ सदस्य पदका उम्मेदवार सुरज आइङ्देम्बे (बजु) ले आफूलाई उद्योगी–व्यवसायीको साझा प्रतिनिधिका रूपमा अघि सारेका छन्। अध्यक्ष पदका उम्मेदवार गायत्री कटुवाल भण्डारी नेतृत्वको स्वतन्त्र समूहबाट क्रम संख्या ५ मा चुनावी मैदानमा रहेका आइङ्देम्बेले उद्योग क्षेत्रको हकहित संरक्षण र उद्योगमैत्री वातावरण निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
लामो समयदेखि उद्योग तथा व्यवसायसँग प्रत्यक्ष रूपमा जोडिँदै आएका आइङ्देम्बेले उद्योगीहरूको समस्या समाधान, उत्पादनमूलक क्षेत्रको प्रवर्द्धन तथा उद्योगीहरूको अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। उद्योग क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र लगानीमैत्री बनाउने उद्देश्यका साथ आफूले निर्वाचनमा सहभागिता जनाएको उनको भनाइ छ।
उनले उद्योगी–व्यवसायीबीच एकता, पारदर्शिता र उत्तरदायी नेतृत्वको आवश्यकता औँल्याउँदै उद्योग वाणिज्य संघलाई सबै व्यवसायीको साझा संस्थाका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। संघले उद्योग क्षेत्रका वास्तविक समस्या सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याई समाधानका लागि पहल गर्नुपर्नेमा उनले जोड दिएका छन्।
आइङ्देम्बेले साना, मझौला तथा ठूला सबै उद्योगीको समान हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उद्योग क्षेत्रको विकासका लागि आवश्यक नीति निर्माण, तालिम, सहजीकरण तथा सरकारी निकायसँग समन्वयलाई प्राथमिकतामा राख्ने बताएका छन्।
यसैबीच स्वतन्त्र समूहले पनि अध्यक्ष पदका उम्मेदवार गायत्री कटुवाल भण्डारीसहित आफ्नो सम्पूर्ण प्यानललाई अत्यधिक मतका साथ विजयी गराउन उद्योगी–व्यवसायीसमक्ष अपिल गरेको छ। समूहले सक्षम, इमानदार र व्यवसायीमैत्री नेतृत्वमार्फत उद्योग वाणिज्य संघलाई थप प्रभावकारी, पारदर्शी र व्यवसायीको विश्वास जित्ने संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।
उद्योगतर्फ सदस्य पदका उम्मेदवार सुरज आइङ्देम्बेले सम्पूर्ण उद्योगी–व्यवसायीलाई क्रम संख्या ५ मा मतदान गरी आफूलाई विजयी गराउन आग्रह गरेका छन्। उनका अनुसार व्यवसायीको विश्वास, सहकार्य र सहभागिताबाट मात्रै उद्योग वाणिज्य संघलाई अझ सशक्त र व्यवसायीमुखी संस्था बनाउन सकिनेछ।














