इटहरी — इटहरी उपमहानगरपालिका र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले साउन १ गतेदेखि लागू हुने गरी सबै यात्रुवाहक सवारी साधनलाई अनिवार्य रूपमा इटहरी बसपार्कबाट मात्रै यात्रु चढाउने तथा गन्तव्यतर्फ प्रस्थान गर्न निर्देशन दिएको छ।
संयुक्त रूपमा जारी गरिएको सूचनाअनुसार इटहरी हुँदै चारै दिशातर्फ जाने यात्रुवाहक सवारी साधनहरूले अबदेखि बसपार्कमा प्रवेश गरी यात्रु चढाएर मात्र आफ्नो गन्तव्यतर्फ जानुपर्ने व्यवस्था गरिएको हो।
उक्त निर्णयको उद्देश्य यात्रु व्यवस्थापनलाई व्यवस्थित बनाउनुका साथै सडकमा हुने अव्यवस्थित यात्रु चढाउने–ओराल्ने कार्यलाई नियन्त्रण गर्नु रहेको जनाइएको छ। सम्बन्धित व्यवसायी तथा यात्रु महानुभावलाई नयाँ व्यवस्था पालना गर्न आग्रह गरिएको छ।
सूचनामा उल्लेख भएअनुसार यस व्यवस्थाको उल्लङ्घन गर्दै बसपार्कबाहिरबाट यात्रु उठाउने वा सञ्चालन हुने सवारी साधनलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।
यो सूचना इटहरी उपमहानगरपालिका तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी, सुनसरीको अनुरोधमा जारी गरिएको हो।














