इटहरी । आगामी साउन २९ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र **‘लज्जावती’**ले प्रचारप्रसारलाई तीव्र बनाएको छ। केही दिनअघि एकसाथ पाँचवटा पोस्टर सार्वजनिक गरेको निर्माण टोलीले अब फिल्मको मुख्य डान्सिङ नम्बर **‘प्याँपु प्याँपू हरान बजाएर’**को भव्य छायाङ्कन सम्पन्न गरेको जनाएको छ।
चितवनको पर्यटकीय क्षेत्र सौराहा चोकमा विशेष सेट निर्माण गरी दुई दिन लगाएर खिचिएको गीतमा फिल्मका मुख्य कलाकार मेनुका माझी, श्रीकृष्ण निरौला, मुकुन भुसाल र जानुका विश्वकर्माले दर्जनौँ कोरस डान्सरसँग आकर्षक प्रस्तुति दिएका छन्।
गीतमा शब्द, संगीत र स्वर लोकप्रिय संगीतकार बाबुल गिरीको रहेको छ भने कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। निर्माण टोलीका अनुसार यो गीतले दर्शकलाई नाच्न बाध्य बनाउने विश्वास लिइएको छ।
मुख्य अभिनेत्री मेनुका माझीले फिल्मप्रति आफू निकै उत्साहित रहेको बताउँदै गीत उत्कृष्ट बनेको दाबी गरिन्। उनले भनिन्, “हामीले निकै मेहनत गरेका छौँ। यो गीतले फिल्मको चर्चा अझै बढाउने विश्वास लिएको छु।” म्युजिक भिडियोबाट चलचित्रमा मुख्य अभिनेत्रीका रूपमा डेब्यु गर्न लागेकी माझीले ‘लज्जावती’ आफ्नो करियरका लागि विशेष फिल्म रहेको पनि बताइन्।
निर्माण पक्षका अनुसार नामले प्रेमकथा झल्काए पनि ‘लज्जावती’ केवल प्रेमकथामा सीमित नभई समाजका विविध आयाम र मानवीय सम्बन्धका जटिल पक्षलाई प्रस्तुत गर्ने प्रयास गरिएको चलचित्र हो।
आहा फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका लेखक तथा निर्देशक राजबहादुर साने हुन्। फिल्ममा धीरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा र विनोद श्रेष्ठको पनि अभिनय रहेको छ।
फिल्मका प्रस्तुतकर्ता सौरभ वली, निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया, तथा कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन्। छायाङ्कन दिव्यराज सुवेदी, सम्पादन तारा थापा ‘किम्भे’ र द्वन्द्व निर्देशन देव महर्जनले गरेका छन्।
कुबेर सिने डिस्ट्रिब्युसनले देशभर वितरण गर्ने जिम्मेवारी लिएको ‘लज्जावती’ आगामी साउन २९ गतेदेखि देशभरका चलचित्र हलमा प्रदर्शनमा आउनेछ। निर्माण पक्षले चलचित्रले दर्शकको मन जित्ने विश्वास व्यक्त गरेको छ।














